काठमणडौ । यतिबेला सारा विश्व महँगीको चपेटामा परेको छ। 

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिका पनि महँगीको मारबाट अछुतो छैन। अमेरिकामा जुन महिनामा मुद्रास्फीतिको दर बढेर ९.१ प्रतिशत पुगेको छ। जुन पछिल्लो ४१ वर्षयताकै उच्च हो। जसका कारण मन्दीको डर थप गम्भीर बन्दै गएको छ। 

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन मुद्रास्फीतिको जवाफ दिएर खिल्ली र आलोचनाको पात्र बनेका छन्।

अमेरिकी श्रम विभागले बुधबार मुद्रास्फीति तथ्यांक सार्वजनिक गरेको छ। तथ्यांकअनुसार जुन महिनामा मुद्रास्फीति दर सन् १९८१ यताकै उच्च विन्दुमा पुगेको छ। यसअघि मे महिनामा अमेरिकी मुद्रास्फीति दर ८.६ प्रतिशत थियो। अमेरिकामा मुद्रास्फीति बढ्ने अनुमान पहिल्यै गरिए पनि यस्तो वृद्धि हुने आशंका कसैलाई पनि थिएन। बजारले असार महिनामा मुद्रास्फीति ८.८ प्रतिशत पुग्न सक्ने अनुमान गरेको छ।

मुद्रास्फीतिको तथ्यांक आएपछि राष्ट्रपति बाइडेनले यो तथ्यांक पुरानो भइसकेको प्रतिक्रिया दिएका छन्। उनले मुद्रास्फीति दर निकै उच्च भए पनि यसको तथ्यांक पुरानो भएको बताए। बाइडेनले भने, ‘जुन तथ्यांक आएको छ, त्यसले पछिल्लो ३० दिनमा ग्यासको मूल्यमा आएको गिरावटको असर नदेखाएको हो। मे महिनायता ग्यासको मूल्य ४० सेन्टले घटेको छ। यसका साथै गहुँजस्ता वस्तु पनि सस्तो भएको छ। यी कारणले अमेरिकी परिवारका लागि जीवन सजिलो बनाएको छ।’

अर्थशास्त्री विवेक कुमारले यस्तो उच्च मुद्रास्फीतिले फेरि फेडरल रिजर्भलाई आक्रामक मौद्रिक नीति अपनाउन बाध्य पार्न सक्ने बताए। यसै महिना हुने नीतिगत समीक्षामा फेडरल रिजर्भले फेरि ०.७५ प्रतिशतले ब्याजदर बढाउन सक्ने अनुमान गरिएको छ। फेडरल रिजर्भले यस महिना ब्याजदर ०.७५ प्रतिशतले बढाउने संकेत गरिसकेको छ। 

अमेरिकामा अहिले सन् १९८० को दशकयताकै तीव्र दरमा ब्याजदर बढाइएको छ। दशकौँपछि सबैभन्दा उच्च मुद्रास्फीतिले फेडरल रिजर्भलाई योबाहेक अरु कुनै समाधान छोडेको छैन।

यसअघि फेडरल रिजर्भले जुनमा ब्याजदर ०.७५ प्रतिशतले बढाएको थियो। पछिल्लो २८ वर्षयता एकैपटक ब्याजदरमा भएको यो सबैभन्दा ठूलो वृद्धि हो। त्यसपछि फेडरल रिजर्भका अध्यक्ष जेरेमी पावेलले भनेका थिए कि केन्द्रीय बैंकले मुद्रास्फीतिमा रोकिने स्पष्ट संकेत देख्दा मात्र ब्याज दर बढाउन रोक्न सक्छ। अहिले मुद्रास्फीति रोक्नुको साटो रेकर्डस्तरमा पुगेपछि ब्याजदर बढाउने बाटो खुलेको छ। धेरै विज्ञहरुले यो पनि बताउँदै आएका छन् कि अब फेडरल रिजर्भ अगाडि अर्को विकल्प छैन।

अमेरिकामा व्याजदर बढ्दा उदीयमान बजार अर्थात् विकासशील अर्थतन्त्रमा प्रत्यक्ष असर पर्नेछ। यसको मतलब अमेरिकामा मुद्रास्फीतिको दर बढ्दा नेपाल, भारतजस्ता अर्थतन्त्रमा पनि नराम्रो असर पर्नेछ। –एजेन्सी