काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसले चौतर्फी रुपमा पारेको प्रभावका कारण अमेरिकाको अर्थतन्त्रमा पहिरो खसेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अमेरिकाको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा ४.८ प्रतिशतको गिरावट आएको हो। अमेरिकी सरकारले बुुधबार सार्वजनिक गरेको आँकडाले कोरोनाले देशको अर्थतन्त्रमा गहिरो संकट पैदा गरेको देखाएको छ। 

अर्थशास्त्रीहरुले गरेको सर्वेक्षणमा पहिलो त्रैमासमा अमेरिकाको जीडीपीमा ३.५ प्रतिशतको गिरावट आउने प्रक्षेपण गरिएको थियो। अहिले देखिएको गिरावट सन् २०१४ को पहिलो त्रैमासमा १.१ प्रतिशतको गिरावट आएयताकै सबैभन्दा धेरै हो। 

यस्तै सन् २००८ को चौथो त्रैमासमा आएको ८.४ प्रतिशतको गिरावटपछिकै सबैभन्दा धेरै हो। अर्थतन्त्रमा सबैभन्दा धेरै संकट उपभोक्ता खर्च, गैरआवासीय स्थिर लगानी र निर्यात तथा इन्भेन्टरीमा देखिएको छ। 

केन्द्र र राज्य सरकार दुुवैका तर्फबाट गरिएको वृद्धि र आवासीय स्थिर लागानीमा आएको २१ प्रतिशतको उछालले केही हदसम्म नोक्सानलाई परिपूर्ति गरेको छ। कुुल जीडीपीको ६७ प्रतिशत ओगटेको उपभोक्ता खर्चमा यो पहिलो त्रैमासमा ७.६ प्रतिशतको गिरावट आएको छ। 

कोरोनाका कारण गैरआवश्यकीय स्टोर र कर्नर स्टोरहरु बन्द रहेकाले उपभोक्ता खर्चमा कमी देखिएको छ। टिकाउ सामानहरुको खर्चमा १६.१ प्रतिशतको कमी आएको छ भने सेवा क्षेत्रमा गरिने खर्चमा १०.२ प्रतिशतको गिरावट आएको छ। 

निर्यातमा ८.७ प्रतिशत र सेवा उद्योगमा ३० प्रतिशतको गिरावटसँगै आयातमा १५.३ प्रतिशत गिरावट आएको छ। 

अधिकांश अर्थशास्त्रीहरुले अमेरिकाको अर्थतन्त्र पहिले नै मन्दीमा रहेको बताएका छन्। प्राविधिक रुपमा पनि क्रमशः दुइवटा त्रैमासमा नकारात्मक वृद्धि आएको छ। 

सन् २०१९ मा अमेरिकाको जीडीपीमा २.१ प्रतिशतको बढोत्तरी आएको थियो। – एजेन्सी