काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको सेयर सर्वसाधारण समूहमा परिवर्तन गर्ने प्रक्रिया अगाडि बढाएको छ। 

कम्पनीले गत मंसिर ९ गतेसम्म विशेष साधारणसभाले पारित गरेको संस्थापक समूहको सेयर सर्वसाधारण समूहमा परिणत गर्ने प्रस्तावलाई कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढाएको छ। 

कम्पनीले आज एक सूचना प्रकाशित गरी कम्पनीमा अब संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व कायम गर्ने प्रक्रिया अगाडि बढाइएको जनाएको छ। हाल कम्पनीको संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ। 

कम्पनीले संस्थापक समूहको १९ प्रतिशत सेयर सर्वसाधारण समूहमा परिणत गर्दैछ। यसका लागि कम्पनीले सर्वसाधारण समूहमा सेयर परिणत गर्न नचाहने संस्थापक सेयरधनीहरुलाई ७ दिनभित्र काठमाण्डौ सुन्धारास्थित कम्पनीको प्रधान कार्यालय र काठमाण्डौको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालयमा निवेदन दिन आग्रह गरेको छ। 

संस्थापक सेयरधनीहरुबाट निवेदन नपरेको खण्डमा सर्वसाधारण समूहमा सेयर परिणत सहमति प्रदान गरेको मानी सोहीअनुसार प्रक्रिया अगाडि बढाइने जनाएको छ।