काठमाण्डौ। सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने प्रारम्भिक समझदारी भएको छ। 

आज बिहान सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जरमा जाने प्रारम्भि समझदारी भएको हो। समझदारीपत्रमा सगरमाथा इन्स्योरेन्सका तर्फबाट सञ्चालक लोकमान्य गोल्छा र लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट सञ्चालक अरुणराज श्रेष्ठले हस्ताक्षर गरेका छन्।

यी दुवै कम्पनीबीच १ः१ सेयर स्वाप अनुपातमा मर्जर भएमा बीमा समितिले तोकेको चुक्तापुँजी सजिलै पुग्ने देखिन्छ। हाल सगरमाथा इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब ३३  करोड रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सको १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। समान हैसियतमा मर्जर भएमा चुक्तापुँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ। 

मर्जर सम्झौता भएसँगै दुवै कम्पनीले सेयर कारोबार रोक्का गर्न नेप्सेलाई आग्रह गरेका छन्। नेप्से आजै यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गर्ने निर्णय गर्नेछ।