काठमाण्डौ । नेपालीले स्थापना गरेको आइटी स्टार्टअप सगुनले निश्कासन गरेको मिनी आइपिओमा लगानी गर्न पाउने अवधि अब केही घण्टा मात्र बाँकी छ । 

अमेरिकी नियामक सेक्युरिटी एक्सचेञ्ज कमिसन(एसइसी) एक्सचेञ्जबाट अनुमति पाएर मिनी आइपिओ निश्कासन गरेको सगुनमा पछिल्लो समय लगानीकर्ताहरुको थामिनसक्नुु ओइरो लागेको छ । 

सगुनले अमेरिकी समयअनुसार नोभेम्बर ३० को मध्यरातसम्म आवेदन लिने जनाएको छ । लगानी गर्न फर्म भरिसकेका लगानीकर्ताले बिभिन्न कारणले बैंकबाट वायर गर्न नसकेको खण्डमा थप केही सयम उपलब्ध गराइने सगुनले प्रष्ट्याएको छ । एकहप्तासम्म समय दिइए पनि जतिसक्दो चाँडो वायर गर्न समेत आह्वान गरिएको छ । 

सगुनको आइपिओमा विश्वभरबाट लगानी गर्न सकिन्छ । नेपालको कानुनले विदेशमा लगानी अझै खुलाइनसकेको कारण नेपाल भित्रबाट भने लगानी गर्न सकिँदैन, तर बिदेश बस्ने बैंक खाता भएका ब्यक्तिहरुले भने बिना संकोच लगानी गर्न सक्नेछन् । 

सगुनको मिनि आइपीओमा प्रतिकित्ता २३ दरका सेयर कम्तीमा १ हजार डलर लगानी गर्न सकिन्छ । सगुनले सेयर किन्न आवेदन फारम भरिसकेकाहरुलाई वायर ट्रान्सफर गरेर पैसा पठाउन भने थप एक साता समय दिने बताइएको छ । 

कसरी गर्ने आवेदन ? 
सगुनमा लगानी गर्न
www.sagoon.com/invest
लिंकमा गएपछि पहिलो चरणमा आफ्नो नाम, इमेल ठेगाना, ब्यक्तिगत, सामूूहिक, कम्पनी, ट्रस्टमध्ये केबाट लगानी गर्ने हो भनेर खुलाउनु पर्छ । त्यसपछि कति डलर लगानी गर्ने, कति सेयर संख्या बराबर भन्ने छनौट गर्नुपर्छ । त्यहाँ विभिन्न चार वटा अप्सन आउँछन् । 

अमेरिकामा बस्नेहरुका लागि इलेक्ट्रोनिक चेक, चेक मेल गरेर, क्रेडिट/डेविट कार्डमार्फत र वायर ट्रान्सफर गरेर सगुनलाई रकम पठाउने सुविधा उपलब्ध छ । अमेरिकाबाहेकका अन्य मुलुकबाट भने क्रेडिट/डेविट कार्डमार्फत र वायर ट्रान्सफर गरेर मात्र रकम बुझाउने विकल्प छन् । अष्ट्रेलिया र भारतबाट बैंकबाट वायर गरेर मात्र गर्न सकिनेछ ।

यसपछि सुरु हुन्छ दोस्रो चरणको विवरण भर्ने । यस चरणमा लगानीकर्ताको जिप कोडसहितको ठेगाना, मोवाइल नम्बर जन्म मिति लगायत भर्नुपर्छ । 

तेस्रो चरणमा बार्षिक आम्दानी खुलाउनु पर्छ । बार्षिक २ लाख डलरसम्म आम्दानी गर्नेहरुले अमेरिकामा कमाइको १० प्रतिशतसम्म सेयरमा लगानी गर्न सक्छन् । त्यसभन्दा बढी कमाइ गर्नेका लागि भने लगानी गर्ने रकमको सीमा छैन । 

फर्मको अर्को चरणमा कम्पनीसँग केही बुँदामा सम्झौता गर्नुपर्ने हुन्छ । त्यहाँ आफ्नो पूरा नाम हालेर हस्ताक्षर गर्नुपर्छ । हस्ताक्षर विद्युतीय हुन्छ । यसमा नाम लेखेर हस्ताक्षर गर्न सकिनेछ ।
त्यसपछि रकम तिर्ने क्रेडिट/डेविट कार्डको नम्बर, सुरक्षा नम्बरलगायतको विवरण फर्ममा भर्नुपर्छ । यसपछि रकम सगुनको सेयर निश्कासन प्रत्याभूति गर्ने कम्पनीको खातामा जान्छ ।

सगुनमा लगानी भिसा, मास्टर कार्ड, डिस्कोभर कार्डबाट सकिन्छ । क्रेडिट कार्डमा भ्यालिड सेक्युरिटी कोड भने हुनैपर्छ । एकभन्दा बढी क्रेडिट कार्डबाट जोडेर एकमुष्ट रकम पठाउँछु भन्न मिल्दैन । जति रकमको सेयर किन्ने हो, एउटै क्रेडिट कार्डबाट भुक्तानी दिनुपर्छ । साथै, बैंक खाता भएका ब्यक्तिले बैंकबाट वायर ट्रान्सफर गरेर समेत लगानी गर्न सक्नेछन् । 

अन्तिम समयसम्म कुरेर लगानी गर्नुभन्दा समयमै आवेदन गर्नु उपयुक्त हुन्छ । सगुनले लगानी गर्न चाहनेहरुका लागि नेपाल, भारत र अमेरिकामा रहेका आफ्ना प्रतिनिधिहरु चौबीसै घण्टा सहयोगका लागि खटेका बताएको छ । सगुन डटकम र इन्भेष्ट पेजमा भएको लाइभ च्याटबाट सबै कुरा बुझ्ने ब्यवस्था मिलाइएको छ । लगानीकर्ताले केही समस्या भोग्नु परे उनीहरुले तुरुन्तै समाधान गर्ने छन् । सगुनको आधिकारिक पेजमा यस सम्बन्धी सम्पूर्ण विवरण अध्यावधिक गरिएको छ ।