काठमाण्डौ । समोआ नामको एक देशको प्रधानमन्त्रीमा निर्वाचित महिलाले बगैंचामा टेन्ट लगाएर पद तथा गोपनीयताको सपथ लिनुपरेको छ ।
त्यहाँको विपक्षी पार्टीले सत्ताबाट हट्न अस्वीकार गरी संसदमा ताला लगाइदिएपछि नवनिर्वाचित महिला प्रधानमन्त्रीलाई यस्तो आपत आइलागेको हो ।
यो घटनाले सत्तामा पुगिसकेकाहरु हतपत बाहिरिन चाहँदैनन् र सत्तामा टिकिरहनका लागि हदैसम्मको तिकडम गर्न पनि तयार हुन्छन् भन्ने देखिन्छ ।
यो घटनाबाट प्रशान्त महाद्वीपमा अवस्थित यो देशमा अनिश्चितताको माहौल बनेको छ ।
यो देशमा लगातार २२ वर्षसम्म प्रधानमन्त्रीको रुपमा रहेका ट्विलाएपा साइलेले मेलीलेगाओइले पद छाड्न भनी अदालतले दिएको आदेश कार्यान्वयन गर्न अटेर गरेपछि यस्ता अवस्था बनेको हो ।
बीबीसीका अनुसार सो देशको प्रधानमन्त्रीको रुपमा निर्वाचित ६४ वर्षीया नाओमी मताफा सोमबार पद तथा गोपनीयताको सपथ लिन भन्दै संसद पुगेकी थिइन् ।
तर, पूर्व प्रधानमन्त्री देशका मुख्य न्यायाधीशसँगै त्यहाँ पुगे र मताफालाई संसदमा प्रवेश गर्न दिएनन् । मताफा संसद भवन पुग्नुअघि नै मेलीलेगाओइका समर्थकहरुले ताला लगाइसकेका थिए ।
मताफा र उनका समर्थक सांसदहरु छेउकै बगैंचामा भेला भए र टेन्ट टाँगेर त्यही सपथ लिने कार्यक्रम आयोजना गरियो ।
यो घटनापछि मताफाको पार्टीले एक विज्ञप्ति जारी गरेर भनेको छ कि देशमा लोकतन्त्र सधैं कायम हुनुपर्छ । यो मौलिक सिद्धान्तको अपवादमा कोही जान सक्दैन ।
मताफाका विरोधीहरुले बगैंचामा भएको सपथ ग्रहणलाई अस्वीकार गरेका छन् । यसलाई अनाधिकारिक सपथ ग्रहणको संज्ञा दिएका छन् । मेलीलेगाओइले यो सपथ ग्रहण समारोहलाई गैरकानूनी र अबैध भनेका छन् ।
समोआको इतिहासकै सबैभन्दा ठूलो टक्कर देखिएको चुनावको एक महिनापछि यो विवाद सतहमा आएको हो । यो चुनावपछि कयौं विवादहरु आए र कतिपय विषयलाई कानूनी रुपमा चुनौति दिने काम पनि गरिए ।
मेलीलेगाओइको ह्यूमन राइट्स प्रोटेक्सन पार्टी(एचआरपीपी) करिब चार दशकपछि सत्ताबाट बाहिर हुन पुग्यो । यो दललाई हराउने काम मताफाको फास्ट पार्टीले गरेको थियो । दुवै पार्टीले २५/२५ सिट जितेका थिए । तर, एक निर्दलीय सांसदले अलग भएर मताफाको पार्टीलाई समर्थन गरिदिए ।
एचआरपीपीले यसलाई लिएर कानूनी दाउपेच अपनायो । यो पार्टीले दाबी गरेको छ कि विपक्षीहरुले महिला सांसदहरुको कोटालाई सही ढंगले पालना गरेनन् । त्यसपछि समोआको चुनाव आयोगले अप्रीलको मतदानको परिणामलाई रद्ध गरिदियो र २१ मेमा नयाँ ढंगले चुनाव गर्न आदेश दियो ।
तर, पुनः निर्वाचनको ५ दिनपहिला त्यहाँको सर्वोच्च अदालतले एचआरपीपीको विरुद्धमा फैसला सुनाइदियो । अदालतले अप्रीलमा भएको चुनावको परिणामलाई सही भनिदियो । कोर्टले आफ्नो आदेशमा मताफालाई प्रधानमन्त्रीको रुपमा सपथ ग्रहण गराउन समेत आदेश दिएको थियो ।
लगातार २२ वर्षसम्म सत्तामा रहेका मेलीलेगाओइ विश्वमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बन्ने दोश्रो व्यक्तिको रुपमा रहेका छन् ।
पोलिनेशियाको पहिलो महिला उपप्रधानमन्त्रीको रुपमा काम गरिसकेकी मताफालाई आम चुनावमा पाएको सफलताले उनलाई यो क्षेत्रमा सरकारको नेतृत्व गर्ने दोश्रो महिला समेत बनाइदिएको छ ।
मताफा यो देशको पहिलो प्रधानमन्त्रीकी छोरी समेत हुन् । उनी सन् १९८० को दशकको मध्यबाटै उनी राजनीतिमा सक्रिय छिन् ।
-बीबीसीको सहयोगमा
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19