काठमाण्डौ । सनराइज बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ३ बराबर १ अर्थात ३३.३३ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । 

भदौ २९ गते बसेको बैंकको २५० औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई बोनस सेयर वितरणको घोषणा गरेको हो । 

यो बैंकले हालै नारायणी नेशनल फाइनान्सलाई अक्वायर गरेका कारण लगानीकर्ताले घोषित सेयर लाभांशमा कर भने तिर्नु नपर्ने स्पष्ट पारेको छ । 

बोर्ड बैठकको यो निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभा र नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत हुनुपर्नेछ । 

अघिल्लो वर्ष आर्थिक वर्ष २०७१/७२ को नाफाबाट यो बैंकले आफ्ना लगानीकर्तालाई २१.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

यो बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ९५ करोड १७ लाख खूद नाफा आर्जन गरेको थियो । बैंकको चुक्तापूँजी ३ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । घोषित बोनस सेयरको वितरण र व्यवस्थापनपछि चुक्तापूँजी ५ अर्ब  ३० करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।