काठमाण्डौ । लाभांश पारित र अन्य बैंक तथा वित्तीय संस्थासँगको मर्जर प्रक्रिया अगाडि बढाउने मुख्य अजेन्डासहित सनराइज बैंक लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभाको मिति तय गरेको छ। 

बैंकको गत मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २४ गते काठमाण्डौको बालुवाटारस्थित आम्रपाली बेंक्वेटमा आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान १० बजेदेखि सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित चुक्तापुँजी ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६.१० रुपैयाँको कुल ८.२८ प्रतिशलते हुन आउने ७४ करोड २५ लाख ३४ हजार ७८६.९१ रुपैयाँबराबरको लाभांश पारित गर्नेछ। प्रस्तावित लाभांशमा ५.८० प्रतिशतले हुन आउने ५२ करोड १ लाख ३३ हजार ६३.२९ रुपैयाँबराबरको बोनस सेयर र २.४८ प्रतिशतले हुन आउने २२ करोड २४ लाख १ हजार ७२३.६२ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

सभाले अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने गराउन वा उपयुक्त देखिएको अवस्थामा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि चलअचल सम्पत्ति तथा दायित्व र कारोबारको मूल्यांकन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्नेसम्बनधी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले पुस ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ६ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछनु।