काठमाण्डौ । सनराइज बैंकले आफ्ना लगानीकर्तालाई ३३.३३ प्रतिशत सेयर लाभांश वितरणको घोषणा गरेको छ । 

बैंकको भदौ २९ गते बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लगानीकर्तालाई बोनस सेयर वितरणको निर्णय गरेको हो । 

प्रस्तावित बोनस सेयरको नेपाल राष्टबैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि लगानीकर्ताले पाउनेछन् । 

बैंकको हाल चुक्तापूँजी ३ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि चुक्तापूँजी करिब ५ अर्ब ३० करोड रुपैयाँको पुग्नेछ । 

सनराइज बैंकले २०७३ असार मसान्तसम्ममा ९८ करोड रुपैंयाँ नाफा कमाएको थियो । यो अवधिमा बैंकले २ दशमलब ९० प्रतिशतमा रहेको खराब कर्जालाई घटाएर एक दशमलब २४ प्रतिशतमा झारेको छ । बैंकको जगेडा कोषमा २ अर्ब १६ करोड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २३ रुपैंयाँ ९८ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १५४ रुपैंयाँ ५६ पैसा रहेको छ ।