काठमाण्डौ । सनराइज बैंक लिमीटेड चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ९१ करोड ३४ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ । 

चौथो त्रैमासमा पनि नाफाको दर यही कायम रहे यो वर्ष बैंकले १ अर्ब २१ करोड वितरणयोग्य मुनाफा आर्जन गर्ने देखिन्छ । बैंकको चुक्तापूँजी ८ अर्ब १५ करोड रहेको छ । यसरी हिसाब गर्दा लगानीकर्ताले यो वर्ष कम्तीमा १४ प्रतिशत लाभांश पाउनसक्ने देखिन्छ । 

बैंकले समीक्षा अवधिमा १ अर्ब २२ करोड नाफा आर्जन गरेको छ। यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ३०.१४ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष १ अर्ब ४७ करोडमा सीमित संचालन मुनाफा बढेर १ अर्ब ७५ करोडको उचाईमा पुगेको छ भने १ अर्ब ९२ करोडमा सीमित खूद ब्याज आम्दानी ३७.६६ प्रतिशतले बढेर २ अर्ब ६४ करोडको उचाईमा पुगेको छ ।

समीक्षा अवधिमा सनराइज बैंकले ७२ अर्ब १९ करोड निक्षेप संकलन गरी ६८ अर्ब ८१ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा बैंकको निक्षेप ७.१७ प्रतिशत र कर्जा १६.२२ प्रतिशतले बढेको हो । 

अघिल्लो वर्ष २ अर्ब ३३ करोडमा सीमित रिजर्बको आकार बढी यो वर्ष २ अर्ब ४३ करोड पुगेको छ भने १.४५ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटेर १.३७ प्रतिशतमा सीमित भएको छ । 

चैत मसान्तसम्म निकै टाइट सीसीडी रेसियो(७९.७३ प्रतिशत) रहेको बैंकको कस्ट अफ फण्ड ७.४ प्रतिशतबाट बढेर ७.५२ कायम भएको देखिएको छ । 

आधार दर घटेर १०.४३ प्रतिशतमा सीमित भएको देखिएको छ भने वार्षिकीकृत प्रतिसेयर आम्दानी अघिल्लो वर्षको १५.४१ रुपैयाँबाट बढेर २०.०५ रुपैयाँ पुगेको देखिएको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४४.५५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.७२ गुणा कायम भएको छ ।