काठमाण्डौ । नबील इन्भेष्टमेन्ट बैकिंग लिमीटेडले संचालन गरेको २ म्युचुुअल फण्ड(सामूहिक लगानीकोष)मध्ये एउटाको प्रति इकाई खुद सम्पत्ति मूल्य घटेको छ भने अर्कोको स्थिर रहेको छ ।

नबील ब्यालेन्स फण्ड-१ को प्रति इकाई खूद सम्पत्ति मूल्य(नेट एसेट भ्यालू एनएभी) घटेको हो । 
जेठ मसान्तसम्म यो स्किमको एनएभी २४ रुपैयाँ ७ पैसा रहेकोमा असार मसान्तसम्म घटेर २३ रुपैयाँ ९५ पैसा कायम भएको हो । 

यो स्किमले असार मसान्तसम्म सूचिकृत सेयरमा ९६ करोड ७१ लख र ऋणपत्रहरुमा ११ करोड ४४ लाख लगानी गरेको छ । सूचिकृत नभएका धितोपत्रमा ७ करोड बढी लगानी रहेको छ । 

यो स्किमले मुद्धती निक्षेपमा ५ करोड रुपैयाँ लगानी गरेको छ । यसरी यो स्किमले कुल १ अर्ब २० करोड लगानी गरेको छ । ६० करोड ८१ लाख बढी बैंक मौज्दात छ भने २ करोड बढीको अन्य सम्पत्ति छ । 

७५ करोडबाट सुरु भएको यो स्किमले असार मसान्तसम्म ४ करोड २१ लख बढी ब्याज आम्दानी गरेको छ । यस्तै, ५८ लाख बढी ब्याज आम्दानी गर्न सफल भएको छ भने ९ करोड ४४ लाख जम्मा आम्दानी गरेको छ । 

असार मसान्तसम्म यो स्किमको नाफा १४ करोड ७५ लाख रुपैयाँ रहेको छ । 

यो स्किमले सबैभन्दा धेरै जलविद्युत लगानी तथा विकास कम्पनीको खरीद गरेको छ । यो कम्पनीको कुल ६५ हजार ६० कित्ता स्किमले खरीद गरेको छ । रकमको हिसाबले सबैभन्दा धेरै लगानी स्ट्याण्डर्ड चार्टर्डमा ७ करोड बढी रहेको छ । 

यसैगरी, सात वर्षे बन्दमुखी नवील इक्वीटी फण्डको एनएभी भने जेठ मसान्तकै अवस्थामा रहेको छ । जेठ मसान्तमा यो स्किमको एनएभी ९ रुपैयाँ ९७  पैसा रहेको थियो । सूचिकृत सेयरमा यो कम्पनीले असार मसान्तसम्म ४५ करोड ६५ लाख बढी लगानी गरेको छ । यस्तै, सूचिकृत नभएका धितोपत्रमा २ करोड ५६ लाख बढी लगानी गरेको छ भने मुद्धती निक्षेपमा १२ करोड ५० लाख लगानी गरेको छ । यसरी यो स्किमले हालसम्म ६० करोड ७२ लाख कुल लगानी गरेको छ । 
एक अर्ब २५ करोड रुपैयाँबाट सुरु भएको यो स्किमले असार मसान्तसम्म ४ करोड ३९ लाख बढी ब्याज आम्दानी गरेको छ । ११ लाख ३७ हजार लाभांश आम्दानी गरेको छ भने कुल आम्दानी ३ करोड ८ लाख बढी गरेको छ । 

असार मसान्तसम्म आइपुुग्दा यो स्किमले ३९ लाख ८८ हजार नाफा कमाएको छ । 

यो स्किमले सबैभन्दा धेरै सेयर प्राइम कमर्सियल बैंकको खरीद गरेको छ । यो बैंकको २५ हजार ६ सय ६८ कित्ता खरीद गरेको छ । सबैभन्दा बढी ३ करोड १८ लाख लगानी शिखर इन्स्योरेन्समा गरेको छ ।