काठमाण्डौ । विश्व बैंकले रुस–युक्रेन युद्धका कारण विश्वभर वृद्धि भइरहेको महँगी सन् २०२४ सम्म कायमै रहने अनुमान गरेको छ। 

विश्व बैंकले हालै एउटा प्रतिवेदन सार्वजनिक यस्तो प्रक्षेपण गरेको हो। प्रतिवेदनअनुसार विगत दुई वर्षमा तेलको मूल्यमा भएको वृद्धि सन् १९७३ को तेल संकटपछिकै ठूलो हो। त्यस्तै खाद्यान्नमा भएको मूल्यवृद्धि सन् २००८ को आर्थिक संकटपछिकै धेरै हो। 

रुस तेल, प्राकृतिक ग्यास र कोइला निर्यात गर्ने विश्वकै अग्रेणी देश हो। त्यस्तै युक्रेन पनि गहुँ र मकै निर्यात गर्ने विश्वको प्रमुख देश हो। युद्धका कारण रासायनिक मल र मुख्य धातुहरुमा भइरहेको मूल्यवृद्धिको प्रभाव कृषिलगायतका औद्योगिक क्षेत्रमा परिरहेको छ। 

गत वर्ष झन्डै दोब्बरले वृद्धि भएको तेलको मूल्य यो वर्ष ५० प्रतिशतभन्दा बढीले बढ्ने विश्व बैंकले अनुमान गरिएको छ। यस्तै खाद्यान्नको मूल्य यो वर्ष २२.९ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। 

विशष गरेर गहुँको मूल्य ४० प्रतिशतले बढ्ने विश्व बैंकको अनुमान छ। यसले सबैभन्दा धेरै गरिब देश र त्यहाँका गरिब परिवार बढी प्रभावित बन्ने विश्व बैंकको ठहर छ। 

इन्धन र खाद्यान्नमा भइरहेको मूल्यवृद्धिले गरिबी उन्मूलनको लक्ष्यमा समेत धक्का पुग्ने विश्व बैंकले जनाएको छ। –एजेन्सी