काठमाण्डौ । सन् २०२४ मा विश्वको अर्थतन्त्र कमजोर र सुस्त रहनेमा विश्व बैंक र विश्व आर्थिक मञ्च(डब्लूईएफ) ले समान धारणा व्यक्त गरेका छन् । 

डब्लूईएफको ताजा अनुमानका अनुसार सन् २०२४ मा विश्वको अर्थतन्त्र कमजोर रहनेछ । विश्व अर्थतन्त्रको खस्कदो अवस्था,भू–राजनीति टकराव र कृत्रिम बौद्धिकताको प्रभावका कारण यस वर्ष विश्वको अर्थतन्त्र कमजोर रहने डब्लूईएफले जनाएको छ । 

सन् २०२४ मा विश्वको अर्थतन्त्र कमजोर रहनेमा डब्लूईएफका करिब ५६ प्रतिशत अर्थशास्त्रीहरु सहमत देखिएका छन् । यस्तै ४३ प्रतिशत अर्थशात्रीहरुले अवस्थामा कुनै परिवर्तन नहुने अथवा मजबुत हुने मत राखेका छन् । 

यद्यपी दक्षिण एशिया,पूर्वी एशिया र प्रशान्त क्षेत्रको आर्थिक अवस्था भने सकारात्मक रहने अनुमान गरिएको छ । अधिकांश अर्थशास्त्रीहरुले यी क्षेत्रहरुमा मध्यम आर्थिक वृद्धि हुने बताएका छन् । 

यस्तै उनीहरुले यस वर्ष श्रमबजार ७७ प्रतिशत र आर्थिक अवस्था ७० प्रतिशतले सुस्त रहने प्रक्षेपण गरेका छन् । 

अधिकांश अर्थशास्त्रीहरुमा युरोप,अमेरिका,मध्य–पूर्व र उत्तर अमेरिकाको आर्थिक परिदृश्य कमजोर रहनेमा एकमत देखिएका छन् । १० मध्ये ७ जना अर्थशास्त्रीले यस वर्ष भू–राजनीति टकराव बढ्ने बताएका छन् । अर्थशास्त्रीहरुका अनुसार यस वर्ष विश्वको सेयर बजारमा ८० प्रतिशतको अस्थिरता देखिनेछ । 

केहि अघि विश्व बैंकले पनि सन् २०२४ मा विश्वको आर्थिक वृद्धि सुूत रहने प्रक्षेपण गरेको थियो । विश्व बैंकले सन् २०२४ मा लगातार तेस्रो वर्ष विश्वव्यापी वृद्धि सुस्त हुने प्रक्षेपण गरेको थियो ।

विश्व बैंकले जारी गरेको पछिल्लो ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स प्रतिवेदनका अनुसार सन् २०२३ मा २.६ प्रतिशत रहेको विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२४ मा २.४ प्रतिशतमा सीमित हुनेछ। -एजेन्सी