काठमाण्डौ । आज सेयर बजार दिनभर सामान्य अंकले तलमाथि गर्यो। कारोबारको अन्तमा करिब १७ अंक बढेर बन्द भएको बजारमा गएको कारोबारको तुलनामा कारोबार पनि सामान्य मात्रै सुधार भएको छ। बजार भने पुनः १९०० भन्दा माथि नै गएर बन्द भएको छ।  

क्यान्डल स्टिकमार्फत हेर्दा आज बजारमा बुलिस मारुबुजु क्यान्डल बनेको छ। यो साता बनेका तीनवटा क्यान्डललाई मिलाएर हेर्दा नेप्सेको चार्टमा पुनः सपोर्ट विन्दु करिव १८८० मा बुलिस पिनबार बनेको छ। 

यदि नेप्सेको चार्टमा लामो समय घटेको बजारमा रातो मारुबुजु क्यान्डल र हरियो मारुबुजु क्यान्डलको बीचमा ह्याम्मर आकृतिको क्यान्डल  बन्छ भने त्यसलाई बुलिस पिनबार भनिन्छ। यस्तो क्यान्डलमा पुच्छरको लम्बाइ ह्याम्मरको बडीको तुलनामा कम्तीमा दुईगुणा हुनुपर्छ। 

बोलिंगर ब्यान्डमार्फत आजको बजारलाई हेर्दा मूल्यरेखाले मध्य ब्यान्डलाई ब्रेक गरेर माथि गएको छ। यसले बजार पुनः माथि जाँदै गरेको संकेत गर्छ। 

म्याक्डीमार्फत आजको बजारलाई हेर्दा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम सकारात्मक र गाढा बनेको छ। आरएसआई ४७ को जोनमा आज ‘डब्ल्यू’ आकर बनेको छ। यसले अप ट्रेन्ड बनेको संकेत गर्छ। 

समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा बजारले क्रमशः माथिको यात्रा तय गर्दै गरेको बुझिन्छ। आगामी कारोबारमा यदि बजार १९३१ भन्दा माथि–माथि कारोबार भएर टिकेको खण्डमा बजारलेको माथिको यात्रा तय गरेको मान्न सकिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस होइन।