काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्नो आठौं वार्षिक साधारणसभा(एजीएम) आह्वान गरेको छ । 

यो कम्पनीको फागुन ७ गते बसेको सञ्चालक समितिको १९१ औं बैठकले आगामी चैत ४ गते आफ्नो आठौं एजीएम आह्वान गर्ने निर्णय गरेको हो । 

प्रदेश १ को सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा अवस्थित दुर्गा पार्टी प्यालेसमा बिहान ९ः३० बजे साधारणसभा आह्वान गरिएकोछ । 

साधारणसभामा हाल कायम चुक्तापूँजीको ११ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि आवश्यक ०.५७८९४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश हुनेछ । बोनस सेयर वितरण सम्बन्धी प्रस्ताव पारित भएपछि यो कम्पनीको चुक्तापूँजी बढेर ९ करोड ५२ लाख ३८ हजार पुग्नेछ । यहीकारण साधारणसभामा हाल कायम सेयरपुँजीलाई बढाएर ९ करोड ५२ लाख ३८ हजार नै पुर्याउने प्रस्ताव समेत पेश हुनेछ । 

साधारणसभाले यो कम्पनीलाई अन्य कुनै वित्तीय संस्थासँग मर्ज गराउने विषयमा समेत छलफल हुने र त्यसका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ । 

सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने लगायतका विषयमा पनि एजीएमका अजेण्डा रहेका छन् ।