काठमाण्डौ । यी उद्योगपतिको सफलताको कथा कुनै फिल्मी कथाभन्दा कम छैन। श्री रामकृष्ण एक्सपोर्ट्स प्रालिका संस्थापक र निर्देशक गोविन्द लालजीभाइ ढोलकिया (जीएलडी)लाई व्यापार जगतमा जीएलडी भनिन्छ र घरमा गोविन्द काका भनिन्छ।

उनी भन्छन्, ‘चर्को गर्मीमा १४ घन्टा खेतमा काम गर्थ्यौँ। मैले धेरै पढेको थिइनँ, साक्षरमात्रै थिएँ। जब म पहिलोपटक १९६४ मा १३ वर्षको उमेरमा सुरत आएको थिएँ, म सहरका अन्य २००–३०० हीरा पालिसरहरुजस्तै दिनको १४ घन्टा पालिस गर्थें। सपनाको यो सहरमा मैले यसरी सुरु गरेँ।’

पहिलो हीरा पालिस गर्दा लगभग २८ प्रतिशत कच्चा ढुंगा चम्किलो हीरामा परिणत हुन सक्छ र बाँकी फोहोर बन्ने गरेको थियो। लगनशीलता र वैज्ञानिक विधिका साथ काम गर्दै ढोलकियाले २८ को सट्टा ३४ प्रतिशत ढुंगा जोगाएर उच्च मूल्यको ठूलो हीरा बनाए। उनी सम्झन्छन्, ‘मेरो काममा खुसी हुनुको सट्टा मालिकले मलाई सानो हीरामा काट्न भने। तर मैले त्यसो गर्न अस्वीकार गरेँ। यो घटनाले मलाई ढुंगाभन्दा ६ प्रतिशत बढी हीरा पाइन्छ भने आफ्नै व्यवसाय सुरु गर्नुपर्छ भन्ने महसुस गरायो।’ 

यसरी दुई साझेदारसँग सन् १९७० मा श्री रामकृष्ण एक्पोर्टस् प्रालि (एसआरके)को यात्रा सुरु भयो।

सुरतको मुटुमा अवस्थित यो कतारगामलाई ग्लोबल डायमन्ड पोलिङिङ हब भनिन्छ। कटारगाममा रहेको ६ तले ‘एसआरके साम्राज्य’ र नजिकैको नौ तले एसआरके हाउसले एसआरकेको मुख्यालयका रुपमा सेवा गर्दछ। तीन दशकअघि सुरतलाई डायमन्ड पोलिसिङको विश्वव्यापी नक्सामा राख्ने श्रेय एसआकेलाई जान्छ।

फर्ममा हाल ६ हजारजनाले रोजगारी पाएका छन् र यो संख्या निरन्तर बढिरहेको छ। २०२१–२२ मा कम्पनीको कारोबार १६ हजार करोड रुपैयाँ थियो। प्रमुख ग्राहकमा तनिस्क र डी बियर्सजस्ता कर्पोरेट दिग्गज कम्पनी सामेल छन्। बिजनेस–स्कुल सर्किटमा पनि जीएलडी एक लोकप्रिय र प्रभावशाली व्यक्तित्व हुन्। जहाँ उनले आफ्नो संघर्षपूर्ण यात्राका बारेमा व्याख्यान दिन्छन् तर उनका कुरा मुख्यतया मूल्य र ग्रोथमा केन्द्रित हुन्छन्।

आफ्नो आत्मकथा डायमन्ड्स आर फरएभर, सो आर मोराल्समा ढोलकियाले भनेका छन्, ‘हीराको वास्तविक क्षमताको सदुपयोग गर्नु कलामात्र होइन, एकदमै सटिक र कुशल विज्ञान पनि थियो। एक दक्ष हीरा नक्कासी र पालिसकर्ता बन्न आवश्यक सीप प्राप्त गर्न वर्षौंको तालिम लाग्छ तर विज्ञान धेरैजसो कामदारका लागि एउटा रहस्य नै रह्यो।’

यो कम्पनीले अमेरिका, हङकङ, थाइल्याण्ड र जापानजस्ता देशमा पनि हीरा निर्यात गर्छ। कम्पनीले डी बियर्स, आर्कटिक क्यानेडियन डायमन्ड कम्पनी लिमिटेड र रियो टिन्टोसँग रफ हीराको प्रत्यक्ष खरिद गरेको छ। यसमा वार्षिक ७ लाख २० हजार क्यारेटभन्दा बढी रफ हीरा प्रशोधन गर्ने क्षमता छ। 

गोविन्दभाई लालजीभाइ ढोलकिया ७४ वर्षका छन्। उनको कुल सम्पत्ति करिब ४ हजार ८०० करोड रुपैयाँ छ। –एजेन्सी