-अफजल हुसेन
यो संसारमा सफल मान्छे बन्नका लागि कति प्रतिशत अथवा कति क्षमता चाहिन्छ ? तपाई सोच्नुहोस त १०, २०, ५० वा १०० प्रतिशत नै । सबैको फरक फरक आँकलन र मापन हुनसक्छ, किनकि हामी सबै फरक छौ, सबैको अलग पहिचान र क्षमता छ  । 

पुस्तक पसलमा काम गर्ने माइकल फराडे वैज्ञानिक कसरी बने ? खुट्टाले लेखेर नै झमक घिमिरेले मदन पुरस्कार कसरी जितिन् ? स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी कसरी बने ? भारतको कुनै शहरमा चिया बेच्ने नरेन्द्र मोदी कसरी प्रधानमन्त्री भए ? खलासीको काम गर्दा गर्दै रजनिकान्त सुपरस्टार कसरी बने र एसएलसि पास रेखा थापा कसरी चर्चित नायिका बनिन् ? उदाहरण थुप्रै छन्, यी उदाहरणहरु मान्छे सफल बन्न कति क्षमता अर्थात प्रतिभा चाहिन्छ भन्नेका लागि पनि हो । यी मान्छेहरुमा कुनै पनि फरक चिज  थिएन, तर पनि आज उनीहरुलाई सँसारले चिन्छ । 

यसको अर्थ सफलताका लागि केही अरु चिज चाहिन्छ भन्ने हो ।  मात्र प्रतिभाले हुँदैन, यो लेखमा म केही महत्वपूर्ण कुराहरु राख्दैछु, यहाँ मैले मानिस सफल हुनका लागि शून्य प्रतिभा भए पनि हुन्छ भन्ने बिषयमा म बहस गर्न गइरहेको छु । 

१. समयनिष्ट
एउटा जुनसुकैै ओहदाको मान्छे पनि समयको ख्याल गरेर आफूले गर्नुपर्ने तथा पुग्नुपर्ने ठाउँमा समयमा जानसक्छ । समयमा जानु, पुग्नु उसको कर्तव्य हो । डाक्टर, इञ्जिनियर, क्लर्क जो पनि आफ्नो समयमा आफूले पुग्नुपर्ने ठाँउमा पुग्छ, त्यही अनुसार उसले आफ्नो यात्रा तय गर्छ । जसका लागि आँखा नभएको दृष्टिविहीनले पनि कोशिश गर्छन भने यसको लागि कुनै प्रतिभाको जरुरी पर्दैन । जसले समयको पालन गर्न जान्दछ, उसले संसारलाई सहजै जित्न सक्छ । 

२. नैतिकता
नैतिकताको बाटोमा चल्नको लागि कति प्रतिभा चाहिन्छ ? कति पनि चाहिदैन, यो सबै तपाई आफैमा भर पर्ने कुरा हो । एक चोटि बुवा आमा, गुरु तथा अभिभावकबाट मान्छेले सिक्छ कि कहिले पनि नराम्रो काम नगर्नु, अन्याय अत्याचार तथा कुकार्यमा नफस्नु । यसको लागि कति कक्षा पढेको हुनुपर्यो र ? यसको लागि कुनै कुनै प्रतिभाको जरुरी पर्दैन । कतै कुनै विश्वविद्यालयको डिग्रिको आवश्यकता
हुँदैन । शरीरको रंग कालो, गोरो जुन भए पनि हुन्छ । जसले संकल्प गर्छ–म आफ्नो नैतिकता छाड्दिँन, यसका लागि कुनै प्रतिभाको जरुरी हुँदैन ।

३.प्रयास
यसका लागि कति प्रतिभा चाहिएला ? एउटा पत्थरलाई मूर्ति बन्नका लागि कति पनि प्रतिभा चाहिन्न, मात्र हम्मर र हतौडाको तागत सहन सक्ने प्रतिभा चाहिन्छ । जस्तै दुधलाई घिउ बन्न कतिको प्रतिभा चाहियो ? मात्र आफूलाई खार्ने प्रयास चाहियो । प्रयासको अगाडि प्रतिभा महत्वपूर्ण होइन। त्यसकारण सफल बन्नुछ भने प्रयासलाई जारी राख्नुपर्छ। 

४.शारीरिक हाउभाउ
जसले आफ्नो शारिरिक भाषा बोल्छ त्यसको लागि कति पनि प्रतिभाको खाचो पर्दैन, न त कुनै डिग्रि नै चाहिन्छ । सँसारको कुनै ठाउँमा पनि तपाईलाई त्यहाँको भााषाको ज्ञान छैन भने शारिरिक भाषाको माध्यमबाट काम चलाउन सक्नु हुन्छ । आफ्नो बडी ल्याङ्ग्वेजको भरमा भिख माग्ने चार्लि चाप्लिनको बारेमा तपाईले सुनिसक्नु भएको होला, जो आज नामी कलाकार बने अनि औलाले दुनियाँलाई तर्साए । उनी जस्तै अर्को उदाहरण माइकल ज्याक्सन पनि हुन, जसले दुनियाँमा आफ्नो नाम चिनाएर विदा भए। 

५.उर्जा 
उर्जाका लागि पनि कति प्रतिभाको आवश्यकता पर्दैन । एउटा आमा, जसले २० केजी वजन उठाउनमा असमर्थ थिइन्, तिनै आमाले मिनिट्रकलाई एक्लै तानेर आफ्नो बच्चालाई कसरी मर्नबाट बचाइन ? उर्जाका लागि कुनै प्रतिभा चाहिदैन, जब मान्छेको भित्रि उर्जा जाग्छ नि त्यो बेला सबै प्रतिभा अनि डिग्री फिका रहन्छ अनि उर्जाले आफ्नो काम देखाईदिन्छ । जब सपनाको उर्जा आगो बर्साउँछ त्यो बेला प्रतिभाको उर्जा पानी भर्छ, आफूभित्रबो उर्जा जगाउनुस सफलता आफै हात पर्छ । राम, कृष्ण, बुद्घ अथवा महाविर बन्न कति प्रतिभाको आवश्यकता थियो र ? मात्र यिनीहरुभित्रको उर्जालाई सही रुपमा रुपान्तरण गरेर आफ्नो ज्ञानले सँसारलाई हाँक्न सफल भए ।

६.मनोवृति 
आफ्नो एटिच्युडलाई सकारात्मक राख्न मान्छेलाई कुनै प्रतिभाको जरुरी पर्दैन, न त कुनै औपचारिक शिक्षाको नै आवश्यकता हुन्छ । म यहाँनिर एउटा उदाहरण राख्न चाहान्छु, एक जना राजाको औंला काटिएको देखेर उसको मन्त्रीले राजालाई भने–जे हुन्छ राम्रोकै लागि हुन्छ, तर त्यो कुराले राजालाई चिन्तित बनायो । राजाले मन्त्रीलाई एक झापड हाने र जेल भित्र हाले । उनी शिकार खेल्नका लागि जँगलमा गए । जँगलमा आदिबासिहरुले राजालाई समाते र बलि दिन तयार भए । त्यसैबेला कुनै एकले राजाको एउटा औला नभएको देखेछ । औला नभएकोलाई बलि दिन शुभ नहुने भन्दै राजालाई मुक्ति दिए । राजा भाग्दै दरबारमा आए र जेलमा राखिएको मन्त्रीसँग माफी मागे । मन्त्रीले माफी माग्नुको कारण सोधे । जे पनि हुन्छ, राम्रोको लागि हुन्छ, फेरी राजालाई त्यसको कुरा सुनेर अचम्म लाग्यो अनि सोधे अब के भयो मन्त्री ? भनेर । मन्त्रीले जवाफमा भन्छ–यदि हजूरको औला न कटेको भए म जेलभित्र जाने थिइँन, अनि हजुरसँग सिकार खेल्न जानु पथ्र्यो अनि आदिबासीहरुले तपाईको साटो मलाई बलि दिन्थे । यसैले जहिले पनि सकारात्मक सोचाई अर्थाथ पोजेटिभ एटिच्युडबाट सफलता हासिल गर्न सकिन्छ ।

७.आवेग
प्यासन सफलताको कडी हो । जुनसुकै काममा पनि धैर्यता महत्वपूर्ण हुन्छ, सबै कुरा समयसँगै हुँदै जान्छ । धैर्यताले मान्छेलाई सहन र समयमा सही काम गर्न सिकाउँछ । त्यसका लागि थप प्रतिभाको जरुरी
हुँदैन । 

८. सिक्ने प्रवृति 
सफलता सिकाईमा भर पर्छ । सिकाई प्रक्रियामा कोही पनि मान्छे पूर्ण हुँदैन । , सबैले कुनै न कुनै रुपमा केही न केही सिकिरहेको हुन्छ । सिक्नका लागि कुनै प्रतिभाको जरुरी पर्दैन, मात्र इच्छाशक्ति भए पुग्छ । र, कोशिस गर्नुपर्छ, यदि कोशिस गरियो भने जे पनि काम सिक्न अथवा गर्न सकिन्छ । 

९.अतिरिक्त काम 
आफुलाई कहिले पनि कमजोर सम्झनु हुँदैन ।  । आफ्नो बाहेक अतिरिक्त काम गरिराख्नुपर्छ । त्यसो भयो भने सफलता तपाईको पछि पछि आउँछ । जसरी तेन्जिङ्ग नोर्गे शेर्पाले आफ्नो काम बाहेक मान्छेहरुलाई पहाडको टुप्पोसम्म पुर्याउने काम गरे । एकदिन एड्मन हिलारीलाई सगरमाथाको टुप्पोमा पुर्याएर आफ्नो नाम सँसारभर चिनाए । उनीसँग विशेष प्रतिभा के नै थियो र ? तर पनि सफलताको शिखरमा पुग्न सफल भए । 

१०.तयारी
आफूलाई तयार पार्नका लागि कुनै पनि डिग्रीको आवश्यकता पर्दैन । यदि तपाई आफुलाई तयार गर्न सक्नुहुन्छ भने सँसारको जुनसुकै चिजसँग तपाई भिड्न सक्नुहुन्छ । सफलता तपाईको अगाडि लम्पसार परेर आउँछ । 

माथि उल्लेख १० वटा कुराहरु यदि कुनै मान्छेमा छ भने त्यो जिन्दगीमा कहिल्यै पनि हार्दैन, सफल हुन्छ । यो प्रवृति भएका मान्छेलाई प्रकृतिले भनेको छ–तिमी प्रतिभामुक्त छौ,  र संसारको जुनसुकै कठिन काम तिमी गर्न सक्छौ । 

तपाई पनि प्रयास गर्नुहोस, सफलता टाढा छैन । जसरी अँग्रेजीमा एउटा उखान छ नि ‘हार्ड वर्क विथ ट्यालेन्ट ह्वेन ट्यालेन्ट डजन्ट वर्क हार्ड ।’ 
(लेखक दुबईमा कार्यरत नेपाली इञ्जिनियर हुन्।)