काठमाण्डौ । लाभांश पारित र घरेलु लघुवित्तसँगको मर्जर प्रक्रिया टुंग्याउने मुख्य अजेन्डासहित​ समता लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा डोकेको छ।

संस्थाको आज शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १४ गते बाराको सिमरास्थित होटेल क्लासिकमा आयोजना गर्ने निर्णय गरेको हो। सभामा लाभांश पारित प्रस्ताव पेस हुनेछ।

संस्थाले गत आर्थिक वर्ष २०७६/७७ का लागि कुल २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २० प्रतिशत बोनस र ६.३२ प्रतिशत नगद लाभांश रहेका छन्।

यसैगरी सभाले समता र घरेलु लघुवित्तबीच मर्जरमा जाने सम्बन्धमा सञ्चालक समितिबाट प्रस्तुत गरिने प्रतिवेदन छलफल गरी पारित गर्नेछ । यो मर्जर प्रक्रियामा डीडीएका आधारमा निर्धारण गरिएको सेयर स्वाप रेसियो पारित गरी मर्जरलाई स्वीकृति प्रदान गर्नेछ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले आउँदो पुस ५ गतेदेखि पुस १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुने आउँदो पुस ४ गतेसम्म सेयरधनीहरु कायम भइसक्नुपर्ने छ।