काठमाण्डौ । भारतीय उद्योगपति गौतम अडानी लगातार चर्चामा छन्। मंगलबार बिहान भारतीय अखबारहरुको पहिलो पृष्ठमा पनि गौतम अडानी खबरहरु हेडलाइनका रुपमा प्रस्तुत गरिएका छन्।
बिजनेस स्ट्यान्डर्डको समाचारअनुसार अडानी समूहका प्रवर्द्धकहरुले तोकिएको मितिभन्दा अगाडि नै ऋण चुक्ता गरिरहेका छन्। उक्त ऋणको भुक्तानी मिति सेप्टेम्बर २०२४ थियो। तर, अडानी समूहले अग्रिम भुक्तानी गर्ने निर्णय गरेको छ। कम्पनीका अनुसार अब अडानी पोर्ट्स, अडानी ट्रान्समिसन र अडानी ग्रीन इनर्जीको धितो राखिएको सेयर निष्कासन गरिनेछ।
यसअन्तर्गत अडानी पोर्ट्सको १६ करोड ८० लाख, अडानी ग्रीन इनर्जीको २७ मिलियन र अडानी ट्रान्समिसनको करिब ११ करोड धितो सेयर रिडिम गरिनेछ। यो ऋण १ अर्ब ११ करोड डलर अर्थात् करिब भारु ९ हजार करोड रहेको छ। अडानी समूहको यो निर्णय कम्पनीमा विश्वसनीयता संकटमा परेको बेला लिइएको हो।
गौतम अडानीले लगानीकर्ता र बजारबीचको विश्वास कायम राख्न कम्पनीलाई आर्थिक स्रोतको अभाव नहोस् भन्ने सन्देश दिन यस्तो निर्णय गरेको विश्वास गरिएको छ।
हिन्डनबर्ग अनुसन्धान प्रतिवेदन २४ जनवरी २०२३ मा बाहिरिएपछि अडानी समूहले आर्थिक चुनौतीहरुको सामना गरिरहेको छ। यतिमात्र होइन युरोपेली वित्तीय कम्पनी क्रेडिट सुइसले पनि अडानीको ऋणपत्रको मूल्य शून्यमा झारेको थियो र आफ्ना ग्राहकलाई यी ऋणपत्रविरुद्ध ऋण दिन अस्वीकार गरेको थियो।
रिपोर्ट आउनुअघि गौतम अडानी विश्वको तेस्रो धनी व्यापारी थिए। तर, रिपोर्ट आएपछि गौतम अडानी विश्वका शीर्ष २० धनी व्यक्तिको सूचीबाट बाहिरिएका छन्। फलस्वरुप मुकेश अम्बानी फेरि एकपटक एसियाकै धनी व्यक्ति बनेका छन्।
हिन्डनबग एक अमेरिकी वित्तीय अनुसन्धान कम्पनी हो। आफ्नो प्रतिवेदनमा कम्पनीले अडानी समूहमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाएको थियो। यससँगै हिन्डनबर्गले अडानी समूहलाई ८८ प्रश्न पनि सोधेको थियो।
गत हप्ताको सुरुमा अडानी समूहका कम्पनीहरुको कुल मूल्य २२० अर्ब डलर थियो। तर हिन्डनबर्ग प्रतिवेदन बाहिर आएपछि झन्डै आधाले घटेको छ।
अडानी समूहले हिन्डनबर्ग अनुसन्धानका यी आरोपहरुलाई अस्वीकार गरेको थियो। विपक्षी दलले पनि अडानीमाथि लागेको आरोपबारे केन्द्र सरकारलाई घेरा हालेर छानबिनको माग गरिरहेको छ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19