काठमाण्डौ । एनआइसी एशिया बैंकले केही दिन पर्खन गरेको आग्रहलाई सकारात्मक रुपमा लिंदै नेपाल बैंकर्स संघ(एनबिए)को बैठक सकिएको छ । 

एनआइसी एशिया बैंकले साधारण बचतमा १० र मुद्धती बचतमा १२ प्रतिशत ब्याज दिने भनी गरेको निर्णयले आफूहरुबीचको भद्र सहमति तोडिएको भन्दै नेपाल बैंकर्स संघको शुक्रबार बिहान बसेको आकस्मिक बैठकले एनआइसीलाई २७ वटा वाणिज्य बंैकसँगको अन्तरबैंक कारोबारमा सहभागी नगराउने निर्णय गरेपछि चर्किएको विवादलाई साम्य पार्न दुवै पक्ष सकारात्मक देखिएका छन् । 

बैंकले समेत समस्या समाधानका लागि सकारात्मक भई एनबिएलाई पत्राचार गरेपछि त्यसलाई सकारात्मक रुपमा लिंदै बैठक सकिएको अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।

उनका अनुसार आइतबारको बैठकले एनआइसी एशियालाई अन्तरबैंक कारोबारमा सहभागी नगराउन गरेको निर्णयप्रति सबै बैंकले समर्थन जनाएका छन् । सहमतिका लागि ठोस निश्कर्ष ननिस्किएसम्म यसैलाई निरन्तर गरिराख्ने र यो बीचमा दुवै पक्षले मिडियाबाजी नगर्ने भनी बैंकको तर्फबाट गरिएको अनुरोधलाई आफूहरुले सकारात्मक रुपमा लिएको समेत ढुंगानाले प्रष्ट पारे । 

‘उहाँहरु(एनआइसी एशिया बैंक) सहमतिमा नआउञ्जेल एनबिएको निर्णयलाई यथास्थितिमै लैजाने भन्ने कुुरा भएको छ ।’ उनले बिजशालासँग भने–‘उसले मलाई केही समय चाहियो, सहमतिमा आउँछु भनी पत्र लेखेको छ । यसलाई हामीले सकारात्मक रुपमा लिएका छौ ।’ ढुंगानाले सहमतिको वातावरण बन्दै गएकोले अवस्था सकारात्मक रहेको समेत प्रष्ट पारे । 

एनआइसी एशिया बैंकका प्रवक्ता सुधिर पाण्डेले संवेदनशील बैकिङ उद्योगकै लागि अप्ठ्यारो परिस्थिति सिर्जना भएको र यसले निक्षेपकर्ता तथा ग्राहकहरुको मनस्थितिमा नकारात्मक असर परी समग्र उद्योगलाई नै धराशायी बनाउनसक्ने निश्कर्ष निकाल्दै आफूहरुले एनबिएलाई केही दिनसम्म मिडियाबाजी नगरिदिन र मौन बसिदिन आग्रह गरेको प्रष्ट पारे । ‘एकआपसमा लड्नुु र भिड्नू ठीक हुँदैन, त्यही भएर एकदुुई दिन जे छ, त्यही अवस्थामा राखौं भनेर हामीले अनुरोध गरेका हौ ।’ प्रवक्ता पाण्डेले भने–‘दुुईचार दिनपछि यो इस्यूूमा आपसमा बसेर कुरा गरी सहमति निकाल्नुुपर्छ भन्ने हाम्रो कुरा हो ।’ 

उनले यो बीचमा वार्तालाई समेत जारी राख्ने र एउटा सहमति निकाल्ने दुुई पक्षबीच प्रारम्भिक सहमति भएको समेत प्रष्ट पारे । यो बीचमा कसैले कसैको बिषयमा कमेन्ट नगर्ने सहमति भएको उल्लेख गर्दै पब्लिक सेन्टिमेन्टलाई भड्काउने हिसाबले समाचार सामाग्रीहरु प्रकाशन नगरिदिन समेत संचारमाध्यमहरुलाई आग्रह गरे ।