काठमाण्डौ । लाभांश पारित र मर्जर प्रक्रिया थालनीको मुख्य अजेन्डासहित समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

संस्थाको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते झापाको बिर्तामोडस्थित अग्रसेन भवनमा गर्ने निर्णय गरेको हो ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको कुल २२.२ प्रतिशत लाभांश पारित हुनेछ ।

संस्थाले चुक्ता पुँजी रु. २१ करोडको २१.०९ हुन आउने रु. ४ करोड ४३ लाखबराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । त्यस्तै बोनस सेयरको कर प्रयोजनका लागि संस्थाले आफ्ना सेयरधनीहरुलाई १.११ प्रतिशतले हुन आउने रु. २३ लाख ३१ हजार ५७८.९५ नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी उपयुक्त अन्य लघुवित्तसँग आपसमा गाभ्ने गाभिने वा प्राप्ति प्रक्रियाका लागि गर्नुपर्ने सम्पूर्ण कार्यको अख्तियार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

यसैबीच संस्थाले साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले पुस १६ गतेदेखि साधारणसभा सम्पन्न नहुन्जेलसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ प्रस्तावित लाभांश पाउने र साधारणसभामा भाग लिन योग्य हुन पुस १५ गतेसम्म संस्थाको सेयरधनी कायम भइसक्नुपर्नेछ ।