काठमाण्डौ । राष्ट्रियस्तरका दुई विकास बैंक सांग्रीला डेभलपमेन्ट बैंक र साइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । 

यी दुवै बैंकले गत आर्थिक वर्षको सञ्चित नाफाबाट सेयरधनीलाई वितरणका लागि घोषणा गरेको लाभांश पाउन चाहनेले आजसम्ममा यी कम्पनीको सेयर खरीद गरी सेयरधनी कायम भइसक्नुपर्नेछ । 

यी दुवै कम्पनीले घोषित लाभांश पारित गर्ने उद्देश्यले साधारणसभा आह्वान गरिसकेका छन् । साधारणसभामा सहभागी बन्न तथा लाभांश पाउनका लागि यी दुवै बैंकले मंसिर ११ गतेलाई बुक क्लोजको मिति तोकेका छन् । यसको अर्थ यी बैंकबाट घोषित लाभांश पाउन योग्य हुन आज अर्थात मंसिर १० गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ । 

सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडले आगामी मंसिर २४ गते आफ्नो १९ औं वार्षिक साधारणसभा काठमाण्डौको लैनचौर ब्यांक्वेटमा आह्वान गरेको छ । 

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार गत वर्षको सञ्चित नाफाबाट ५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करबापतको ०.२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 

यो बैंकले १६ करोड ३३ लाख रुपैयाँ बराबरको बोनस सेयर तथा ८५ लाख ९८ हजार रुपैयाँ बराबरको नगद लाभांश बाँड्न लागेको हो । 

यसैगरी, साइन रेसुंगा डेभलपमेन्ट बैंकले आफ्नो १५ औं साधारणसभा मंसिर २३ गते रुपन्देहीको मणिग्रामस्थित डिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल प्रालिमा आह्वान गरेको छ । 

यो बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई चुक्तापूँजीको १०.५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ। सोही अजेण्डा साधारणसभाबाट पारित हुनेछ ।