काठमाण्डौ । साउदी अरबको पेट्रोलिय कम्पनी अरेम्कोले प्राथमिक सेयर निश्कासनको सबै तयारी पूरा गरेको छ । कम्पनीका सीइओले सबै तयारी पूरा भए पनि आइपीओ कहिलेदेखि आउँछ भन्ने विषय सरकारले टुंगो लगाउने बताएका सिएनएनले जनाएको छ । 

सीइओ आमिर नासिरले वल्र्ड कंग्रेसमा भनेका छन् कि कम्पनी निकै ठूलो आकारमा सेयर बजारमा प्रवेशका लागि सबै हिसाबले तयार भएर बसेको छ । 

नासिरले भनेका छन् कि यी आइपीओको माध्यमबाट कम्पनीको सेयर मुख्य रुपमा स्थानीय सेयर बजारमा सूचिकरण हुनेछ । उनले विदेशी पूँजीबजारमा समेत कम्पनीको सेयर सूचिकरण गराउने कम्पनीको तयारी रहेको जानकारी समेत दिएका छन् । 

गत साता वाल स्ट्रीट जर्नलले भनेको थियो कि अरेम्को स्थानीय सेयर बजारमा पहिलोपटक सूचिकरण हुनेछ । यसपछि यो कम्पनी विदेशी बजारमा समेत सूचिकरण हुनेछ । खबरहरुमा बताइएअनुसार यो कम्पनीका लागि विदेशी बजार भन्नुको अर्थ टोकियोको सेयर बजार हुनसक्छ ।

अरेम्कोले भनेको छ कि सन् २०२० वा २०२१ सम्ममा सरकारी कम्पनीको ५ प्रतिशत सेयर सूचिकरण गर्न चाहन्छ । यो विश्वकै सबैभन्दा ठूलो सेयर सेल हुनसक्नेछ । 
यो आइपीओ साउदी अरबका युवराज मोहम्मद बिन सलमानको सुधार कार्यक्रमको एक महत्वपूर्ण हिस्सा हुनेछ ।

सुधार कार्यक्रम अन्तरगत पेट्रोलियम पदार्थप्रतिको साउदी अर्थव्यवस्थाको निर्भरता कम गर्ने योजना रहेको छ । 

कम्पनीले आफ्नो दुई लाख करोड डलर मूल्यको आधारमा १०० अर्ब डलरसम्मको लगानी आइपीओबाट जुटाउन चाहन्छ ।

विश्वमा हालसम्मको सबैभन्दा ठूलो आकारको आइपीओ अलीबाबा कम्पनीको नाममा रहेको छ । यो कम्पनी सन् २०१४ मा न्यूयोर्क स्टक एक्सचेञ्जमा सूचिकृत भएको थियो । 

कम्पनीको यो आइपीओ २५ अर्ब डलरको रहेको थियो । दोश्रो ठूलो आइपीओ एग्रीकल्चर बैंक अफ चाइनाको थियो । यो बैंक २२.१ अर्ब डलरको आइपीओको साथमा सन् २०१० मा सेयर बजारमा सूचिकरण भएको थियो । 

तेश्रो ठूलो आइपीओ चीनकै इण्डष्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाइनाको थियो । सन् २००६ को यो आइपीओ २१.९ अर्ब डलरको थियो ।