काठमाण्डौ । साउदी अरबमा आज आइतबारबाट सबै सरकारी कार्यालयहरु खुला हुने भएका छन्।

साउदी अरबले देशमा आइतबारदेखि कोरोना रोकथामका लागि लगाइएको प्रतिबन्धहरु खुकुलो बनाएको छ। यद्यपि सरकारी कार्यालयहरुमा काम गर्नका लागि साउदी सरकारले केही अनिवार्य निमय भने लगाएको छ। 

सरकारी कार्यालयहरुमा सिफट्टअनुसार काम गर्न भनिएको छ। कर्मचारीलाई फिंगर प्रिन्ट हाजिरमा प्रतिबन्ध लगाइएको छ। जो कर्मचारी बिरामी छन् उनीहरुलाई घरबाटै काम गर्न अनुमति दिइएको छ। 

अल अरबिया टेलिभिजनका अनुसार यसअघि मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले गत ३१ मेदेखि सरकारी कार्यालयहरु ५० प्रतिशत कर्मचारीको उपस्थितमा खुला गर्न अनुमति दिएको थियो। त्यसपछि त्यसलाई बढाएर ७५ प्रतिशत पुर्याइएको थियो।

साउदीमा हिजो शनिबार ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। हिजोमात्रै साउदीमा २७ जनाको ज्यान गएको थियो। 

साउदी अरबमा हालसम्म कोरोनाबाट ३ लाख १३ हजार ९११ जना संक्रमित भइसकेका छन्। तीमध्ये २ लाख ८८ हजार ४४१ जना निको भइसकेका छन् भने ३ हजार ८४० जनाको मृत्यु भएको छ। – एजेन्सी