– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। जसमा बजार ३ दिन बढ्यो भने १ दिन घटेको छ। 

अघिल्लो साता १९३२.४५ मा बन्द भएको बजार यो साता २००७.०६ मा बन्द भएको छ। यस हिसाबले यो साता दोस्रो बजार ७४.६१ अंकले बढेको छ। अघिल्लो साता बजारमा करिब ५८ अंकको गिरावट आएको थियो। 

यो साता बजारमा ५ अर्ब २३ करोड रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो साता बजारमा ४ अर्ब २३ करोड रुपैयाँबराबरको कारोबार भएको थियो। यस हिसाबले यो साता बजारमा कारोबार र सूचक दुवैमा बढोत्तरी आएको छ। अघिल्लो साता कारोबार र सूचक दुवैमा गिरावट आएको थियो। 

यसअघि लगातार ७ साता घटेको बजार यो साता भने १९३० को विन्दुबाट फर्केको छ। यो साता बजार बढ्दा १ खर्ब १२ अर्बले बजार पुँजीकरण बढेको छ। अघिल्लो साता २८ खर्ब ९२ अर्ब बजार पुँजीकरण बढेर यो साता ३० खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ। 

प्राविधिक पक्ष

लगातार ७ साता ओरालो लागेको सेयर बजारमा यो साता करिब ७५ अंकको बढोत्तरी भएको छ। अघिल्लो साता भने बजारमा ५८ अंकले गिरावट आएको थियो। 

योसँगै नेप्सेको साप्ताहिक चार्टमा डबल क्यान्डल स्टिक प्याट्रनअन्तर्गत दुईवटा क्यान्डललाई मिलाएर हेर्दा बुलिस इन्गल्फिङ प्याट्रन बनेको छ। बुलिस इन्गल्फिङ भनेको मैनबत्ती चार्ट निर्माण गर्दा यदि अघिल्लो साताको रातो क्यान्डललाई पछिल्लो साताको हरियो क्यान्डलले पूरै ढाक्ने गरी (यसको अर्थ अघिल्लो मैनबत्तीको लम्बाइभन्दा पछिल्लो हरियो क्यान्डलको लम्बाइ लामो) मैनबत्ती बनेमा बुलिस इन्गल्फिङ भनिन्छ (हेर्नुहोस् हरियो एरो)। यसले बजारले ट्रेन्ड परिवर्तन गर्न लागेको संकेत गर्छ। 

यसविपरीत यदि अघिल्लो हरियो क्यान्डललाई पछिल्लो दिनको रातो क्यान्डलले पूरै ढाक्छ भने त्यसलाई बियरिस इन्गल्फिङ भनिन्छ।

यो साता  नेप्सेमा बनेको बुलिस इन्गल्फिङको भ्यालिड मात्रा भने ७० प्रतिशत रहेको पाइन्छ। यदि आगामी दिनमा बजारमा बुलिस इन्गल्फिङपछि करेक्सन आउँछ भने त्यसलाई इन्ट्री प्वइन्ट अर्थात् बजार प्रवेश गर्ने विन्दु मानिन्छ। 

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा 

साप्ताहिक रुपमा बोलिंगर ब्यान्डमार्फत हेर्दा अघिल्लो साता बजारले मध्य ब्यान्डबाट तल झरेको थियो। यो साता बजार फर्किन खोजेको देखिन्छ तर मध्य ब्यान्ड अर्थात् २००७ को विन्दुमा प्रतिरोध सामना गरेको छ। 

साप्ताहिक रुपमै बजारलाई मध्य ब्यान्डबाट हेर्दा करिब ३ साता अगाडि बनेको बियरिस क्रसओभर भ्यालिड नै छ। तर, यो साता हिस्टोग्राम फिक्का बनेको छ। 

आरएसआई करिब ४३ को तहबाट फर्केर न्युट्रल जोनमा पुगेको छ। समग्रमा तीनवटै इन्डिकेटरबाट हेर्दा बजारले करिब १९३० मा सपोर्ट लिएर माथिको यात्रा तय गर्दै गरेको देखिन्छ। तर, कन्फर्मेसनका लागि भने आगामी साता पनि बजारलाई नियाल्नुपर्ने हुन्छ। 

मुभिङ एभरेजका आधारमा 

मुभिङ एभरेजमार्फत विशेषगरी टेवा र सपोर्ट पनि पत्ता लगाउन प्रयोग गरिन्छ। यो साताको बजारलाई हेर्दा बजार २०० दिने रेखाभन्दा माथि बन्द भएको छ। अर्थात् २०० दिनको प्रतिरोधलाई ब्रेक गरेर माथि गएको छ। अब बजारले ५० दिने मुभिङ एभरेजको रेखालाई प्रतिरोध सामना गर्न सक्छ। त्यो भनेको करिब २०५९ को विन्दुमा प्रतिरोध सामना गर्न सक्छ। यदि बजार त्यहाँबाट पनि माथि लाग्छ भने बजारले अप ट्रेन्ड लिँदै गरेको बुझ्न सकिन्छ। 

पिभट प्वइन्टका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतार–चढाव निकालिन्छ। 

बढेमा प्रतिरोध 

  • प्रतिरोध ३ –२२२०
  • प्रतिरोध २ –२१७२
  • प्रतिरोध १– २०८१

पिभट प्वइन्टः २०३३

घटेमा सपोर्ट 

  • सपोर्ट १– १९४२
  • सपोर्ट २– १८९४
  • प्रतिरोध ३ –१८०३

निष्कर्ष

लगातार ७ साता घटेको बजारमा यो साता करिब ७५ अंकले बढोत्तरी आएको छ। यो साता बजारमा सूचक र भोलुम दुवैमा बढोत्तरी आएको छ। अघिल्लो साता जस्तै यो साता पनि जम्मा ४ दिन कारोबार भएको छ। 

यो साताको बजारलाई प्राविधिक रुपमा हेर्दा बुलिस इन्गल्फिङ क्यान्डल बनेको छ। यो साता बढेको बजारले अब पिभट प्वइन्ट २०३३ मा प्रतिरोध सामना गर्न सक्छ। त्यहाँबाट पनि माथि जान्छ भने बजारले ५० दिने मुभिङ एभरेजको विन्दु २०५९ मा अर्को प्रतिरोध सामना गर्न सक्छ। त्यहाँबाट पनि माथि जान्छ भने बजारले २१०० को विन्दुमा अर्को प्रतिरोध सामना गर्न सक्छ। यदि त्यहाँबाट पनि माथि लागेमा बजारको टार्गेट २२२२ सम्म राख्न सकिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कुनै करोबारका लागि सिफारिस भने होइन।