काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्थाले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डोकेको छ।

संस्थाको सञ्चालक समितिको आइतबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक १३ गते शनिबार आयोजना गर्ने निर्णय गरेको हो। सभा गोरखाको होटेल गोरखा बिसौनीमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित २६.३१ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा २५ प्रतिशतले हुन आउने बोनस सेयर र १.३१५७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

सोही सभाले अन्य कुनै लघुवित्त संस्था आपसमा गाभ्ने, गाभिने वा प्राप्तिसम्बनधी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि उपयुक्त लघुवित्त पहिचान गर्न, सम्झौतापत्रमा हस्ताक्षर गर्नलगायतका सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका प्रतिवेदन पनि छलफल गरी पारित गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले आउँदो कात्तिक ३ गतेदेखि कात्तिक १३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक २ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।