काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्थाले आफ्नो छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। 

संस्थाको सञ्चालक समितिको शुक्रबार (पुस ८ गते) बसेको बैठकले यही पुस ३० गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा गोरखाको होटेल गोरखा बिसौनीमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट प्रस्तावित कुल २० प्रतिशत लाभांश अनुमोदन हुनेछ। जसमा १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश छन्। 

बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी बढ्ने भएकोले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

भविष्यमा अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्नेसम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेस सभाले पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले पुस २० गते बुक क्लोज गर्ने भएको छ। यसको अर्थ पुस १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।