काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। 

संस्थाको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल २६.३१५७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१५७ प्रतिशत नगद लाभांश छन्। 

बोनस सेयर वितरणपछि जारी तथा चुक्तापुँजी बढ्ने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको आर्थिक, वार्षिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि छलफल गरी पारित गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि संस्थाले आउँदो पुस ५ गतेबाट पुस १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउने र सभामा भाग लिन योग्य हुनेछन्।