काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा डाकेको छ। 

संस्थाको बिहीबार (फागुन १८ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १० आयोजना गर्ने निर्णय गरेको हो। सभा भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले संस्थाले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट प्रस्तावित हाल कायम चुक्तापुँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार ७२७.६० रुपैयाँको कुल २७.३६८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २६ प्रतिशतले हुन आउने ४० करोड ६७ लाख ४७ हजार ५६९.१८ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.३६८४ प्रतिशतले हुन आउने २ करोड १४ लाख ७ हजार ७६६.८० रुपैयाँबराबरको नगद लाभांश छन्।

सभाले संस्थाको अधिकृत पुँजी २ अर्ब रुपैयाँबाट बढाएर ५ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव स्वीकृत गर्नेछ। सभाले साना किसान विकास र आरएमडीसी लघुवित्तबीच मर्जर प्रक्रियाका क्रममा भएका डीडीए रिपोर्ट, प्रारम्भिक सम्झौता, अन्तिम सम्झौतालगायत अन्य निर्णय तथा सम्पूर्ण कामरकाबाही पारित गर्नेछ। 

सभाले साना किसान विकास र आरएमडीसी लघुवित्तबीच मर्जका लागि तय गरिएको १ः०.८७ सेयर स्वाप रेसियो स्वीकृत गर्नेछ। 

मर्जर प्रयोजनका लागि प्रबन्धपत्र तथा नियमावलीमा संशोधनलगायतका बाँकी सम्पूर्ण कार्य गर्ने अख्तियारी पूर्ण रुपमा सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। 

सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद २ को कार्यकाल थप गर्ने सम्बन्धमा सञ्चालक समितिको निर्णय अनुमोदन गर्नेछ। सञ्चालक समितिको म्याद थप गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन २५ गते (फागुन २६ गते शुक्रबार र २७ गते शनिबार)सम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।