काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा संस्थाले ३० करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २९.४८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २३ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि २९.६९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३३ करोड १९ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ४३ करोड ५ लाख रुपैयाँ भएको छ। 

पहिलो त्रैमासमा संस्थाले ५१ करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ४३ करोड ९ लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी पनि १९.८६ प्रतिशतले बढेको छ। 

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) सामान्य बढेर ०.८१ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ०.७५ प्रतिशत थियो। 

खराब कर्जा बढ्दा संस्थाले प्रोभिजनका रुपमा राख्नुपर्ने इम्पेयरमेन्ट चार्ज १ करोड ९६ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो चार्ज २ करोड ६ लाख रुपैयाँ थियो।

चुक्तापुँजी ३ अर्ब ३३ करोड रुपैयाँ संस्थाको रिटेन्ड अर्निङ १ अर्ब ९० करोड रुपैयाँ र रिजर्भमा ३ अर्ब ७० करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ र रिजर्भमा क्रमशः १ अर्ब ७३ करोड रुपैयाँ र ३ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो। रिटेन्ड अर्निङ ९.३० प्रतिशत र रिजर्भ ५.४९ प्रतिशतले बढेको छ। 

समीक्षा अवधिमा संस्थाले १९ अर्ब २९ करोड रुपैयाँ सापटी लिई ४० अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १९ अर्ब २९ करोड रुपैयाँ सपाटी लिई ४४ अर्ब ३६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

संस्थाको वार्षिकीकृत ईपीएस भने घटेर ३६.१९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ५९.५२ रुपैयाँ थियो। पीई रेसियो २४.०४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २६८.८० रुपैयाँ रहेको छ।