काठमाण्डौ । सानिमा बैंकले निश्कासन गरेको ऋणपत्रमा आकर्षण देखिएन । 

यो बैंकले निश्कासन गरेको ऋणपत्रमा न्यून आवेदन परेको हो । मंसिर १७ गते सोमबारसम्म १ लाख ११ हजार ९ सय ६२ कित्ताका लागि मात्र आवेदन परेको बिक्री प्रबन्धक काठमाण्डौ क्यापिटल मार्केट लिमीटेडले जनाएको छ । 

पहिलो चरणका लागि निर्धारित समयभित्र बैंकको सबै ३८ करोड रुपैयाँको ३ लाख ८० हजार कित्ता ऋणपत्र बिक्री नभएपछि समय थप गरिएको छ । अब इच्छुकले पुस १ गतेभित्र आवेदन दिनुपर्नेछ । 

यो बैंकको ऋणपत्रमा सोमबारसम्म २ हजार ३०६ आवेदकबाट एक लाख ११ हजार ९६२ कित्ताका लागि ११ करोड १९ लाख ६२ हजार रुपैयाँको आवेदन परेको छ ।

यो बैंकले निश्कासन गरेको ऋणपत्रमध्ये सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको २ लाख ६८ हजार ३८ कित्ता अझै बिक्री हुन बाँकी छ ।

सानिमा बैंकले कूल २ अर्ब रुपैयाँको एक हजार रुपैयाँ अंकित दरका २० लाख कित्ता ऋणपत्र कात्तिक ३० गतेदेखि बिक्रीमा ल्याएको हो । जसमध्ये ३ लाख ८० हजार कित्तामा सर्वसाधारणलाई, २० हजार कित्ता सामूहिक लगानी कोषलाई र १६ लाख कित्ता व्यक्तिगत तरवबाट बिक्री गरिने बताइन्छ ।

ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । 

दश वर्षे अवधिको सानिमा बैंकको यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक १० प्रतिशत ब्याज पाउने बताइएको छ । ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ । 

यो बैंकको ऋणपत्रमा अब ढिलोमा पुस १ गतेभित्र आवेदन दिनुपर्नेछ । काठमाण्डौ क्यापिटलको मुख्य कार्यालय, सानिमा बैंकका कार्यालयहरु र आस्वा सदस्य बैंकका शाखा कार्यालयबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ ।