काठमाण्डौ । सानिमा बैंक निश्कासन गरेको ऋणपत्र बिक्री हुन हम्मे हम्मे परेको छ । 

बैंकले वार्षिक १० प्रतिशत ब्याज पाउने गरी निश्कासन गरेको ऋणपत्रमा आवेदन दिने आज(सोमबार) अन्तिम दिन हो । तर, यो अवधिसम्म कम्पनीले निश्कासन गरेको ३ लाख ८० हजार कित्ता ऋणपत्रमा आइतबारसम्म १ लाख ३४ हजार ९ सय १२ कित्ताका लागि मात्र आवेदन परेको छ । 

ऋणपत्र निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको काठमाण्डौ क्यापिटल मार्केट लिमीटेडका अनुसार सानिमाको ऋणपत्र कात्तिक ३० गतेदेखि बिक्री खुल्ला भएको थियो । बिक्री खुल्ला भएको डेढ महिनाको अवधिसम्म पनि सबै कित्ता बिक्री नभएको हो । 

आइतबारसम्मको तथ्यांकलाई आधार मान्दा समेत यो बैंकको ऋणपत्र अझै २ लाख ४५ हजार ८८ कित्ता बिक्री हुन बाँकी छ । अन्तिम दिन भएकोले सोमबार यी सबै कित्ता बिक्री हुने संभावना निकै न्यून देखिन्छ । 

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरको ३८ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशनमा ल्याएको थियो ।

ऋणपत्रमा न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि अधिकतम ३ लाख ८० हजार कित्ता अर्थात ३८ करोड रुपैयाँसम्म आवेदन दिन पाउने व्यवस्था छ । 

सानिमा बैंकले कूल २ अर्ब रुपैयाँको एक हजार रुपैयाँ अंकित दरका २० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको हो । जसमध्ये ३ लाख ८० हजार कित्ता सर्वसाधारणलाई, २० हजार कित्ता सामूहिक लगानी कोषलाई र १६ लाख कित्ता व्यक्तिगत तवरले खरीद गर्नेहरुलाई सुरक्षित गरिएको छ ।

दश वर्षे अवधिको ‘१० प्रतिशत सानिमा डिबेन्चर–२०८५’ मा दिने भनिएको ब्याजको अर्धवार्षिक भुक्तानी गरिने बताइएको छ ।