काठमाण्डौ । सानिमा बैंक लिमीटेडले निकै ठूलो परिमाणको संस्थापक सेयर लिलामीबाट बिक्री गर्ने भएको छ । 

बैंकले २७ लाख १८ हजार ८३५ कित्ता संस्थापक सेयर बिक्रीका लागि चैत ७ (बिहीबार)देखि लिलामी खुलाएको हो । 

इच्छुक बैंकका हाल कायम संस्थापक सेयरधनीले चैत २५ गतेभित्र बोलपत्र पेश गरिसक्नुपर्नेछ । 

बैंकले लिलामीमा राखेको संस्थापक सेयरको न्यूनतम मूल्य रु. १८० हुने भनेको छ । यसको अर्थ न्यूनतम १८० देखि अधिकतम आफूले चाहेको मूल्य राखेर लिलामीका लागि आवेदन दिन सकिनेछ । 

इच्छुक संस्थापक सेयरधनीले न्यूनतम २ लाख कित्ताका लागि आवेदन दिनसक्नेछन् । अधिकतमको हकमा कुनै सीमा राखिएको छैन । 

खरीदकर्ताले आफूले खरीद गर्न चाहेको सेयरको धरौटी बापत जम्मा मूल्यको १० प्रतिशत बराबरको रकम बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमीटेडको नाममा खिचिएको गुड फर पेमेन्ट चेक संलग्न गरी आवेदन पेश गर्नुपर्नेछ । 

आवेदन फारम सानिमा क्यापिटलको नक्सालस्थित मुख्य कार्यालयबाट रु. ५०० तिरी पाउन सकिन्छ ।

दोश्रो बजारमा सानिमा बैंकको सेयरको अन्तिम बिक्री मूल्य २९७ रुपैयाँ रहेको छ ।