काठमाण्डौ । सानिमा बैंक पनि अर्ब कमाउने बैंकहरुको क्लबमा प्रवेश गरेको छ । 

आर्थिक वर्ष ०७१/७२ को तुलनामा ०७२/७३ मा नाफामा ६८.१७ प्रतिशतले प्रगति गर्दै यो बैंकले कुल १ अर्ब ४ करोड खूद नाफा आर्जन गरेको हो । 

०७१/७२ मा ६२ करोड ४१ लाख खूद नाफा आर्जन गरेकोमा पछिल्लो वर्ष चाहि निकै राम्रो प्रगति हासिल भएको हो । 
बैंकको खूद ब्याज आम्दानीतर्फ पनि सन्तोषजनक प्रगति हासिल भएको छ । १ अर्ब १३ करोड खूद ब्याज आम्दानी बढेर १ अर्ब ७२ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । 

सानिमा बैंकको हाल चुक्तापूँजी ४ अर्ब २ करोड रुपैयाँ र सञ्चित कोषमा १ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । 

यो बैंकले गत आर्थिक वर्षमा ४६ अर्ब ३४ करोड निक्षेप संकलन गरेको छ भने ४० अर्ब ४४ करोड कर्जा प्रवाह गरेको छ । आब २०७१/७२ मा चाहि बैंकले ३४ अर्ब ४ करोड निक्षेप संकलन गरी २८ अर्ब २६ करोड कर्जा प्रवाह गरेको थियो । 
बैंकको निस्क्रिय कर्जा प्रतिशत ०.०२ मा सीमित रहेको छ भने कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ७६.०७ प्रतिशत रहेको छ । 

सानिमा बैंकको  प्रति सेयर आम्दानी २४.४७ रुपैयाँबाट बढेर ३४.१७ रुपैयाँ पुगेको छ । यसैगरी, प्रतिसेयर नेटवर्थ १३४.५२ रु.बाट बढेर १४६.२७ रुपैयाँ पुगेको छ । यो कम्पनीको मूल्य आम्दानी अनुपात(पीई रेसियो) २१.९५ रहेको छ । पीई रेसियो जति थोरै भयो, संस्था बित्तीय रुपमा राम्रो रहेको संकेत मानिन्छ ।