काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डोकेको छ। 

कम्पनी सञ्चालक समितिको गत जेठ २५ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार २० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित स्मार्ट दरबार ब्यांक्वेटमा बिहान १० बजेबाट हुनेछ। 

सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल ४.४२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४.२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२२ प्रतिशत नगद लाभांश छन्।

कम्पनीको अधिकृत तथा चुक्तापुँजी वृद्धिको विशेष प्रस्ताव पनि पारित गर्नेछ। पुँजीवृद्धिको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले कुनै जीवन बीमा कम्पनीसँग गाभिने प्रयोजनका लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनोट र समझदारीपत्रमा हस्ताक्षे गर्नेलगायतका सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियार दिने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

सभाले आर्थिक वर्ष २०७६/७७ का वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले असार ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार ७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।