काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेप्से इन्डेक्स १९.०६ अंकले घटेर १ हजार ८८९ विन्दुमा कायम हुन पुगेको छ । दोस्रो बजारमा आज १ अर्ब २८ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने टप १० वटा कम्पनीको  सूचीमा ४ वटा बीमा कम्पनी परेका छन् ।

आज सर्वाधिक सानिमा जिआइसी इन्स्योरेन्सको सेयर खरिदबिक्री भएको छ । कम्पनीको सेयरभाउ २.८० प्रतिशत अर्थात् १४.४० रुपैयाँले घटेर ४९९ रुपैयाँ कायम भएको छ ।

सेयरभाउ घटेसँगै आज २० करोड ३७ लाख ९४ हजार रुपैयाँमाथिको कारोबार भएको छ । ७१० रुपैयाँसम्म पुगेको कम्पनीको सेयरभाउ साउन महिनाको अन्त्यदेखि घट्दै–घट्दै ४९९ रुपैयाँसम्म कायम भएको छ । लगातार घटेको कम्पनीको सेयरभाउ अब बढ्न सक्ने भन्दै लगानीकर्ताहरु सानिमा जीआईसीको सेयरमा झुम्मिएका हुन् । 

साथै निर्जीवन बीमा कम्पनीहरुको लाभांश घोषणाको सिजन पनि सुरु भएकोले कम्पनीको सेयर सर्वाधिक खरिदबिक्री भएको हुनसक्ने लगानीकर्ताहरु बताउँछन् । 

बजार जानकार सरोज भट्टराई सानिमा जीआईसी इन्स्योरेन्सको सर्वाधिक कारोबार हुने खासै गहकिलो कारण नभएको बताउँछन् । ‘नेपालको सेयरबजार हो, इन्साइडर ट्रेडिङ भएको हुन सक्छ, नत्र सानिमा जिआइसीको सर्वाधिक खरिदबिक्री हुने त्यस्तो खासै ठोस कारण पनि छैन’, उनले भने, ‘कम्पनीले न लाभांश घोषणाको तयारी गरेको छ, न त हकप्रद निष्कासनको तयारी अगाडी बढाएको छ, अहिलेको अवस्थामा यसरी सर्वाधिक खरिदबिक्री हुनु इन्साइडर ट्रेडिङ पनि भएको हुन सक्छ ।’ 

साथै अर्का बजार जानकार मुक्ति बहादुर खत्रीले कम्पनीको सेयरभाउ लगातार घटेकाले अब बढ्न सक्ने भन्दै लगानीकर्ताहरुले कम्पनीको सेयर खरिद गरेको हुनसक्ने बताएका छन् ।

‘जीवन बीमा भन्दा निर्जीवन बीमा कम्पनीहरुको सेयरभाउ दोस्रो बजारमा बढी नै हुने गर्दछ, सानिमा जीआईसी इन्स्योरेन्सको सेयरभाउ आज घटेर ४९९ रुपैयाँमा पुगेको छ’, उनले भने, ‘निर्जीवन बीमा कम्पनीको सेयर करिब ५०० रुपैयाँमै पाइने भएपछि सो कम्पनीको सेयर किन्न लगानीकर्ताहरु झुम्मिएका हुन सक्छन् ।’ 

६०० रुपैयाँमाथि रहेको कम्पनीको सेयरभाउ घटेर ५०० रुपैयाँमा झरेपछि नाफा बुक गर्न लगानीकर्ताहरुले सेयर खरिद गर्दा सर्वाधिक कारोबार भएको हुन सक्ने खत्रीले बताए ।