काठमाण्डौ । सानिमा बैंकले एसईईपछिको उच्च शिक्षा अध्ययनका लागि उपलब्ध गराउने छात्रवृत्ति पाउन मंगलबारदेखि आवेदन खुला गरेको छ । 

काठमाण्डौ उपत्यकाबाहिर रहेका सानिमा बैंकका शाखाहरुमार्फत प्रत्येक शाखाले कक्षा ११ र १२ का लागि २–२ जनाका दरले उपलब्ध गराउने छात्रवृत्तिका लागि आवेदन खुला गरेको हो । 
 

बैंकका शाखाहरु रहेका स्थानीय तहअन्तर्गत २०७५ सालमा सञ्चालित एईई उत्तीर्ण गरेका गरिब तथा विपन्न परिवारका विद्यार्थीका लागि बैंक छात्रवृत्ति वितरण गर्न आवेदन खुला गरेको हो । छात्रवृत्ति पाउन विद्यार्थी कम्तीमा पनि एसईईमा ‘सी’ ग्रेड प्राप्त गरेको हुनुपर्छ । 
 

बैंकको जुन शाखामा छात्रवृत्ति पाउन आवेदन दिने हो विद्यार्थी सोही स्थानीय तहको स्थायी बासिन्दा हुनुपर्ने छ । आवेदकले सोही स्थानीय निकायभित्रका सरकारी/सामुदायिक विद्यालयमा निरन्तर विगत तीन वर्षदेखि अध्ययन गरी पछिल्लो प्रयासमै एसईई उत्तीर्ण गरेको हुनुपर्छ । 

छात्रृवत्ति पाउने विद्यार्थीले सोही स्थानीय निकायभित्र रहेका उच्च माध्यमिक शैक्षिक संस्थामा अध्ययन गर्नुपर्नेछ । शैक्षिक संस्था र संकाय भने विद्यार्थी आफैँले रोज्न पाउनेछन् । 

आवेदकले अध्ययन गर्न इच्छाएको शैक्षिक संस्थाले आवेदकलाई भर्ना लिने निश्चित भएपछि मात्र बैंकले छावृत्ति प्रदान गर्नेछ । आवेदकहरुमध्येबाट सबैभन्दा गरिब तथा विपन्न उम्मेदवारको छनोट बैंकले गठन गरेको स्थानीय व्यक्तिहरु सदस्य रहेको सिफारिस समितिले गर्नेछ । 

बैंकले विगत सात वर्षदेखि यो छात्रवृत्ति योजना सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत हरेक शाखामार्फत कक्षा ११ र १२ का २/२ जना विद्यार्थीलाई प्रतिवर्ष प्रतिविद्यार्थी ५० हजार रुपैयाँसम्मको छात्रवृत्ति र अतिरिक्त मासिक रु २ हजार उपलब्ध गराउँदै आएको छ । 

छात्रवृत्ति पाउन विद्यार्थीले साउन १० गतेसम्म सम्बन्धित बैंकका शाखाहरुमा गएर आवेदन फाराम भर्न सक्नेछन् ।