काठमाण्डौ । सानिमा बैंक लिमीटेड पहिलोपटक अर्ब क्लब(अर्ब कमाउने बैंकको सूचि)मा प्रवेश गर्न सफल भएको छ । यो बैंकले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ३० करोड खूद नाफा आर्जन गरी पहिलोपटक आफूलाई अर्ब क्लबमा उभ्याउन सफल भएको हो । अघिल्लो वर्ष यो बैंकको खूद नाफा ९९ करोड ६० लाख मात्र थियो । 

व्यवसाय बिस्तारमा आक्रामक नीति लिएका कारण खूद ब्याज आम्दानीतर्फ पनि बैंकले राम्रो प्रगति गरेको छ । यो बैंकले आब २०७३ ७४ मा खूद ब्याज आम्दानी २ अर्ब २४ करोड आर्जन गरेको छ, जबकि अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ७२ करोड मात्र थियो । 

बैंकको यो अवधिमा १ अर्ब ९९ करोड संचालन मुनाफा भएको छ, अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब ४७ करोड मात्र थियो । 

बैंकले यो अवधिमा ५८ अर्ब २२ करोड निक्षेप संकलन गरी ५१ अर्ब २६ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष बैंकले ४६ अर्ब ४२ करोड निक्षेप संकलन गरी ४० अर्ब ४५ करोड कर्जा प्रवाह गरेको थियो । 

यो बैंकको कस्टअफ फण्ड पनि बढेको छ । अघिल्लो वर्ष ३.८२ प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर यो वर्ष ५.३५ प्रतिशत पुुगेको हो । 

बैंकले अघिल्लो वर्ष ०.०२ प्रतिशतको अनुपातमा रहेको निस्क्रिय कर्जालाई घटाएर ०.०१ प्रतिशतमा झारेको छ । 

बैंकको वार्षिक प्रति सेयर आम्दानी १८.८५ रुपैयाँ, प्रति सेयर नेटवर्थ १३१.३२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.८७ गुणा र प्रति सेयर खूद सम्पत्ति मूल्य १०१५.१२ रुपैयाँ कायम भएको छ ।