काठमाण्डौ । सानो सुरुआत गरेर पनि ठूला सफलता हासिल गर्न सकिन्छ। यसका लागि केही गर्ने साहसमात्र चाहिन्छ। यदि यसो भयो भने सबैभन्दा ठूलो सफलता हासिल गर्न सकिन्छ। 

यस्तै सफलताको उदाहरण बनेका भारतीय ३ युवा। यी ३ साथीले यस्तै काम गरेका छन्। कलेज पढेपछि तीनैजना मिलेर भवनको बेसमेन्टबाट व्यवसाय सुरु गरे। तीनै साथीले मिलेर मेहनत गरे र आज कम्पनीको कारोबार करोडौँमा पुगेको छ। 

हिमांशु चावला, श्रेय सहगल र सुमन पात्रा ती युवा हुन्। यी तीनैजनाले मात्र २ लाख रुपैयाँमा आफ्नो स्टार्टअप सुरु गरेका थिए। उनले सुरुमा निकै कठिनाइको सामना गर्नुपरेको थियो। तर, उनीहरुले हार मानेनन् र मेहनतको फल हो आज उनीहरुको कम्पनी सफलताको उचाइमा पुगेको छ। 

हिमांशु, श्रेय र सुमन कलेजदेखि नै साथी थिए। यी तीनैजनाले २०१० मा २ लाख रुपैयाँ लगानी गरेर फ्लावर आरा नामको पहिलो उद्यम सुरु गरेका थिए। यो कम्पनीले अनलाइन फूल, केक र पर्सनलाइज्ड गिफ्टिङको कारोबार गर्दथ्यो। 

यी ३ युवाले भारतको गुडगाउँको बेसमेन्टबाट यो कम्पनी सुरु गरेका थिए। कम्पनीमा एकजना मात्र कर्मचारी थिए। जसले ग्राहक सेवाका साथै सञ्चालन र डेलिभरीको हेरचाह गर्थे।

तीनैजनाले सन् २००६ मा पढाइ सकेर केही वर्ष काम गरेका थिए। तर, सन् २०१० सम्ममा तीनैजना साथीले आफ्नो जागिरबाट दिक्क भएर आफ्नै व्यवसाय सुरु गर्ने योजना बनाएका थिए। उनीहरुको व्यवसायले सन् २०१० मा भ्यालेन्टाइन डेमा पहिचान पायो। यस दिन उनीहरुको काम यति बढ्यो कि कम्पनीका अन्य साझेदारले पनि अनलाइन डेलिभरीका लागि अर्डरहरु पठाउनु परेको थियो। 

त्यो दिन हिमांशु र श्रेय आफैँले दिल्ली एनसीआरमा ५० प्रतिशत डेलिभरी गरेका थिए। त्यसपछि विस्तारै कम्पनीको उत्पादनको माग बढ्दै गएपछि यी तीन साथीले कम्पनीलाई अगाडि बढाउन यही उपयुक्त समय भएको महसुस गरे। यसपछि २०१६ मा हिमांशु, श्रेय र सुमनले आफ्नो नयाँ कम्पनीअन्तर्गत बेकिंगो नामको छुट्टै ब्रान्ड सुरु गरे।

बेकिंगोले भारतका धेरै सहरमा ताजा केक डेलिभरी गर्छ। हाल कम्पनीले ११ राज्यमा आफ्नो सेवा प्रदान गरिरहेको छ। कम्पनीले अब भारतका मेट्रो सहर जस्तैः हैदराबाद, बेंगलुरु र दिल्ली–एनसीआरका साथै मेरठ, पानीपत, रोहतक, कर्नालजस्ता साना सहरमा सेवा सुरु गर्ने योजना बनाएको छ। सहरमा सञ्चालित बेकरीले ५–१० प्रकारका केकमात्रै बनाउँछन् भने बेकिंगोमा ५०० प्रकारका केक छन्। 

बेकिंगोको वेबसाइटका अनुसार कम्पनीले केक अर्डर गरेको २ घन्टाभित्र भारतको कुनै पनि सहरमा आपूर्ति गर्न सक्छ। आज स्टार्टअप फ्लावर ओराको कारोबार ६० करोड रुपैयाँ र बेकिंगोको ७५ करोड रुपैयाँ रहेको छ। दुवै कम्पनीमा करिब ६५० कर्मचारी काम गर्छन्।–एजेन्सी