काठमाण्डौ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । 

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको मसुरीया शाखा कार्यालयले भदौ ३० गते शनिबारका दिन मसुरीया स्वास्थ्य चौकीद्वारा आयोजित निशुल्क स्वास्थ्य शिविरमा निशुल्क औषधि वितरण गरेको छ । 

शिविरमा नवजात शिशु तथा बाल रोग, स्त्री तथा प्रसुती रोग, नाक कान तथा घाँटी रोग लगायत जनरल सर्जन सेवा प्रदान गरिएको थियो । करिब एकहजार तीनसय छयालीस जनाले निशुल्क स्वास्थ्य जाँच गराएका सो शिविरमा बैंकको मसुरीया शाखाले निशुल्क आवश्यक औषधी उपलब्ध गराएको थियो ।

बैंकको बानेश्वर शाखाले भने भदौ ३१ गते दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं २ का रक्तक्यान्सरपीडित बालक विश्वास कार्कीलाई आर्थिक सहयोग गरेको छ । कार्की परिवारको आर्थिक स्थिति निकै नै कमजोर भएको र उपचारका लागि ठूलो रकम लाग्ने भएकाले, उपचारका क्रममा सहयोग गर्ने हेतुले सिभिल अस्पतालमा उपचाररत ८ वर्षीय ती बालकका लागि बैंकको बानेश्वर शाखाका शाखा प्रबन्धकले नगद रु १०,०००(दशहजार रुपैयाँ)को चेक लगागत फलफुल सामग्री बालकको बाबु चेतबहादुर कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो । पीडित बालकका पिता कार्कीले छोराको उपचारार्थ सहयोग गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गर्दै इच्छुक सबैसँग सहयोगका लागि अपिल गरेका छन् ।

बैंकले वित्तीय कारोबारसँगै आफ्नो कार्यक्षेत्र आसपासका विद्यालय, अशक्त, विरामी, गरिब तथा जेहेन्दार विद्यार्थीलाई  आगामी दिनहरुमा पनि यस्ता खाले सहयोग गर्ने प्रतिबद्घता जनाएको छ ।