काठमाण्डौ । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा डाकेको छ।

संस्थाको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख ३ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काभ्रेको धुलिखेलस्थित होटेल अरनिकोमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल ८.५५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ८.१३ प्रतिशत बोसन सेयर र बाँकी ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। 

सोही सभाले सर्वसाधारणका लागि छुट्याइएको साधारण सेयर सम्बन्धित नियकाबाट स्वीकृति लिई थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन विशेष प्रस्ताव पनि पारित गर्नेछ। एफपीओ निष्कासनपछि संस्थाको पुँजी वृद्धि हुने भएकोले पुँजी वृद्धिलगायतका विषयमा प्रबन्धपत्र÷नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थाको नाम परिवर्तन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। वित्तीय संस्थाले अन्य वित्तीय संस्था गाभ्ने, गाभिने र प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनका लागि आवश्यक कार्य गर्न गराउन सञ्चालन समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही चैत १९ गतेदेखि आउँदो वैशाख ३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब संस्थाको लाभांश पाउन र सभामा भाग लिन चैत १८ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ।