काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले आर्थिक वर्ष २०७२ ७३ मा एक अर्ब बढी खूद नाफा आर्जन गरी आफूलाई अर्ब कमाउने बैंकको क्लबमा सामेल गराउने सफलता प्राप्त गरेको छ । 

यो आर्थिक वर्षमा अघिल्लोको तुलनामा ५२.३७ प्रतिशतले नाफा वृद्धि गर्दै सीमित वाणिज्य बैंकहरुको कब्जा हुने अर्ब क्लबमा यो बैंकले आफूलाई सामेल गराउने सफलता प्राप्त गरेको हो । बैंकले १ अर्ब ९ करोड रुपैयाँ खूद नाफा आर्जन गरेको शुक्रबार जारी बित्तीय विवरणमा उल्लेख छ । 

आर्थिक वर्ष २०७१ ७२ मा यो बैंकले ७२ करोड ३ लाख मात्र खूद नाफा आर्जन गरेको थियो । 

गत आबमा खूद ब्याज आम्दानीमा पनि राम्रो प्रगति हासिल भएको देखिएको छ । १ अर्ब २६ करोड रुपैयाँ रहेको ब्याज आम्दानी बढेर १ अर्ब ६२ करोड पुगेको हो । 

संभावित जोखिम व्यवस्थापनको कोषमा पनि ८२ प्रतिशतले वृद्धि भएको देखिएको छ । अघिल्लो आबसम्म २३.७३ करोड रहेको यो कोष आर्थिक वर्ष २०७२ ७३ मा ४३ करोड १८ लाखको बनेको हो । 

यो बैंकले ४३ अर्ब ३९ करोड निक्षेप संकलन गरेको छ भने ४० अर्ब ५६ करोड कर्जा प्रवाह गरेको छ । आब ०७१ ७२ मा ३५ अर्ब ७८ करोड निक्षेप संकलन गरेको बैंकले २९ अर्ब १९ करोड कर्जा प्रवाह गरेको थियो । 

सिटिजन्स बैंक इन्टरनेशनलको चुक्तापूँजी ३ अर्ब ६५ करोड रहेको छ भने १ अर्ब ७२ करोडको सञ्चित कोष छ । 

यो बैंकको सीडी रेसियो(निक्षेप कर्जा अनुपात) ७७.७४ प्रतिशत रहेको छ भने १.५३ प्रतिशत रहेको निस्क्रिय कर्जा घटाएर १.३१ मा झारेको छ । 

यो बैंकको प्रति सेयर आम्दानी र नेटवर्थ क्रमशः ३५.५६ र १७५.२८ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात(पीई रेसियो)१९.१२ रहेको छ । यो मूल्य आम्दानी अनुपातको अर्थ यो बैंकको अवस्था निकै मजबुत छ भन्ने संकेत हो । कारण जुन संस्थाको पीई रेसियो कम हुन्छ, त्यो संस्था बित्तीय रुपमा त्यति नै तगडा भएको मानिन्छ ।