काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताअनुसारको सेवा सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ स्क्यान एण्ड विथ ड्र सेवाको सुरुवात गरेको छ ।

स्क्यान एण्ड विथ ड्रमार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सकिने कुरा बैंकले जनाएको छ ।

बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका दरवारमार्ग र कमलादी शाखाबाट उपलब्ध गराएको छ र निकट भविष्यमा नै यस सेवालाई देशभरका अन्य शाखाहरुबाट समेत प्रवाह गर्ने उद्देश्यकासाथ कार्यारम्भ भइसकेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए । 

बैंकले विज्ञप्तिमा जनाएअनुसार नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ यो सेवा  सुरु गरिएको हो । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ११० वटा शाखा, ९८ वटा ए.टि.एम. र १०४ वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट करिब साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

कर्जालाई सरल र सहजतरिकाले ग्राहक सामु पस्कने उद्देश्यका साथ बैंकले घर कर्जा ९.५० प्रतिशत वार्षिक ब्याजदरमा एसएमई कर्जा (साना तथा मझौला कर्जा)९.५० प्रतिशत वार्षिक ब्याजदरमा र मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०.९९ प्रतिशत  वार्षिक ब्याजदरमा प्रवाह गर्ने योजना संचालनमा ल्याएको छ ।