काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलको एफपीओ यो साताभित्र बाँडफाँड गर्ने तयारी थालिएको छ । 

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले यो साताको शुक्रबारसम्ममा एफपीओ बाँडफाँडको तयारी गरेको हो । 

बाँडफाँडअघिका केही काम बाँकी नै छन् । ती काम सकेर बुधबारसम्म बैठक बसी बाँडफाँडको मिति टुंग्याउनेछौ । क्यापिटलका एक उच्च तहका कर्मचारीले बिजशालासँग भने ः सबै पूर्वतयारी सकियो भने शुक्रबारसम्ममा बाँडफाँड हुनसक्ने संभावना छ । 
 
सिटिजन्स बैंकले निश्कासन गरेको एफपीओमा १३ गुणा बढी आवेदन परेको छ । 

सिटिजन्सले निश्कासन गरेको ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओमा ५७ लाख भन्दा केही बढी कित्ताका लागि आवेदन परेको छ । ५६ हजार भन्दा बढीले एफपीओ खरीदका लागि आवेदन दिएका छन् । 

यसरी हेर्दा यो बैंकको ९ करोड २७ लाख ६५ हजार २ सय रुपैयाँ बराबरको एफपीओमा १ अर्ब १४ करोड भन्दा बढीको आवेदन परेको देखिएको छ । 

बैंकले प्रिमियमसहित प्रतिकित्ता रु.२०० को दरले एफपीओ निश्कासन गरेको हो । 

इच्छुकले न्यूनतम ५० देखि अधिकतम २ हजार ३ सय कित्तासम्मका लागि आवेदन दिन पाइने व्यवस्था गरिएको थियो । 

एफपीओ गरी बाँडफाँड गरेपछि बैंकमा संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम हुनेछ ।