काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले नेपाल राष्ट्रबैंकबाट “ग” वर्गको इजाजतप्राप्त, बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारकोे कार्यालयको स्वीकृति पश्चात प्राप्ति गरी शनिवारदेखि एकीकृत कारोबार शुभारम्भ गरेको छ । 

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र सिर्जना फाइनान्स लिमिटेडका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु सहभागी भएको एक विशेष समारोहबीच सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरे ।

असार २५ गतेसम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब ४१ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई  दिएको ऋण लगानी करिब १ खर्ब २४ अर्ब रुपैयाँ हुनेछ । प्राप्तिपश्चात बैंकको कुल शाखा १८९ हुनेछ । 

यस प्राप्तिपछि बैंकको ग्राहक सङ्ख्या करिब १२ लाख पुगेको छ । हाल सिटिजन्स बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्स लिमिटेडको प्राप्ति पश्चात् उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात उक्त प्रदेशमा २७ वटा शाखाहरु संचालनमा आएका छन् । 

सहमतिअनुसार, सिर्जना फाइनान्स लिमिटेडका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ९५ कित्ता सेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्तापूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्तापूँजी १२ अर्ब ५७ करोड रुपैयाँ हुनेछ ।  

उक्त कार्यक्रममा बोल्दै सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले यस प्राप्ति पश्चात बैंकको वित्तीय सूचकाङ्कहरु मानवस्रोत, प्राविधिक एवम् अन्य क्षमता अभिवृिद्ध हुने कुरा व्यक्त गरे । 

मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्रबैंकको नीतिलाई सहयोग पुग्ने विश्वास र यस किसिमको प्राप्तिले देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । प्राप्तिबाट सिर्जना फाइनान्स  लिमिटेडका ग्राहकहरुले अझ बढी स्तरीय र परिस्कृत वित्तीय सेवाहरु प्राप्तिपछि बनेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८९ वटा शाखाहरुबाट प्राप्त गर्ने बताए ।

त्यसैगरी, साबिकको सिर्जना फाइनान्स लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुयेश प्याकुरेलले सिर्जना फाइनान्स लिमिटेडका ग्राहक, कर्मचारी र लगानीकर्ताहरुको हित र भविष्य सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा अझ बढी सुरक्षित र उज्वल हुने कुरा बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डेले प्राप्ति पश्चात बैंकको प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने कुरा व्यक्त गरे । 

संयुक्त कारोबारको शुभारम्भ समारोहमा बोल्दै सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले मर्जरपश्चात कर्मचारीहरुको उचित ब्यवस्थापन र दक्षता अभिवृद्धि गरी बैंकको व्यवसाय वृद्धिका लागि ठोस कार्यक्रमहरु संचालन गर्ने बताए । बंैकको बढ्दो ब्यवसाय, शाखा÷सञ्जाल तथा अन्य स्रोतहरुबाट सृजित हुनसक्ने जोखिमहरु अध्ययन गरी पहिचान गर्ने तथा त्यस्ता जोखिमको उचित व्यवस्थापन गरी संभावित हानीलाई न्यून गर्नका लागि स्थापित जोखिम व्यवस्थापन संयन्त्रलाई थप प्रभावकारी बनाउँदै जाने योजना रहेको जानकारी दिए ।