काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले आफ्ना सेयरधनीलाई २४.४९ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । 

बैंकले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बैंकको  २१४ औं बोर्ड बैठकले आफ्ना सेयरधनीलाई २४.४९ प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि १.२९ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

बैंकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई बोनस सेयर वितरणको घोषणा गरिएको स्पष्ट पारेको छ । 

संचालक समितिको यो निर्णय स्वीकृतिका लागि नेपाल राष्टबैंक र कम्पनीको आगामी साधारणसभामा पेश गर्नुपर्नेछ । दुवै निकायबाट स्वीकृत भएपछि घोषित बोनस सेयर र नगद लाभांश सेयरधनीले पाउनेछन् ।। 

गत वर्ष यो बैंकले २० प्रतिशत बोनस सेयर र ५५ प्रतिशत हकप्रद वितरण गरेको थियो । यो बैंकले आर्थिक वर्ष २०७२/७३ मा १ अर्ब १० करोड रुपैयाँ खूद नाफा आर्जन गरेको छ । 

५५ प्रतिशत हकप्रद निश्कासन हुनुअघिसम्म यो बैंकको चुक्तापूँजी ३ अर्ब ६ करोड रुपैयाँ रहेको छ । ५५ प्रतिशतको हकप्रद व्यवस्थापनपछि चुक्तापूँजी ४ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ । बैंकले ५५ प्रतिशतको हकप्रद व्यवस्थापनअघि नै २४.४९ प्रतिशत बोनस सेयर वितरण गर्नेछ । हकप्रद र बोनस सेयर दुवैको व्यवस्थापनपछि यो बैंकको चुक्तापूँजी ५ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।