काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पुस २६ गते बिहीबार प्रदेश नं ३ को प्रादेशिक कार्यालय आफ्नै सुविधा सम्पन्न भवन, काठमाण्डौका डिल्लीबजारमा उद्घाटन गरेको छ ।

एक भव्य समारोहका बीच बैंकका संचालक समितिका अध्यक्ष डा. शंकरप्रसाद शर्माले ताम्रपत्र अनावरण गरी उक्त प्रादेशिक कार्यालयको उद्घाटन गरेका हुन् ।

प्रदेश नं ३ अन्तर्गत बैंकका ३४ वटा शाखाहरु(काठमाण्डौ उपत्यकाभित्र २६ र उपत्यकाबाहिर ८ वटा) रहने छन् । यो कार्यालयबाट व्यापार बिस्तारका साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादनमा समन्वय हुने बताइएको छ । 

प्रदेश नं ३ मा रहेका १४ जिल्लामध्ये ९ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस प्रदेशमा बैंकले करिब २ लाख ६० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । प्रदेश न ३ मा मात्रै बैंकले करिब रु.५७ अर्ब निक्षेप परिचालन गरी रु.४५ अर्ब कर्जा प्रवाह गरेको छ ।

यसअघि बैंकले प्रदेश नं १ को बिराटनगरमा, प्रदेश नं २ को बीरगञ्जको आदर्शनगरमा, प्रदेश नं ४ को पोखराको सिमलचौरमा, प्रदेश नं ५ को नेपालगञ्जमा, प्रदेश नं ६ को सुर्खेतमा र प्रदेश नं ७ को धनगढीमा प्रादेशिक हेडक्वार्टर स्थापना गरिसकेको छ । सातैवटा प्रदेशमा प्रादेशिक हेडक्वार्टर स्थापना गरी विधिवत उद्घाटनको कार्य गर्ने सिटिजन्स बैंक संभवत देशकै पहिलो बैंक समेत बनेको छ । 

हाल यो बैंकको देशभर ८१ शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ्ग एकाई रहेका छन् । 

यो बैंकले करिव चार लाख  ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।