काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बोधराज देवकोटालाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । 

चैत २४ गते बसेको बैंकको २९७ औं सञ्चालक समितिको बैठकले हाल सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गर्दै आएका देवकोटालाई २०७६ साल बैशाख १ गतेबाट लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

गणेशराज पोखरेल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा हालै नियुक्त भई रिक्त हुन गएको नायव प्रमुख कार्यकारी अधिकृत पदमा देवकोटालाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

देवकोटाले स्थापनाकालदेखि नै बैंकसँग आबद्ध भई विभिन्न ओहदामा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । 

बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित देवकोटाले काठमाण्डौ विश्व विद्यालयबाट वित्त व्यवस्थापनमा एमफिल तथा त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । 

यसबैंकमा आबद्ध हुनुअघि उनी नेपाल बैंक लिमिटेडका विभिन्न पदहरुमा रहेर काम गरेका थिए । उनीसँग बैंकिङ क्षेत्रमा २३ वर्षको अनुभव छ ।