काठमाण्डौ । 'योर पार्टनर फोर प्रोग्रेस' भन्ने नारालाई शिरोधार्य गरी २०६४ बैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाह्र वर्ष पूरा गरी तेह्रौं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना गरेको छ । 

बैंकले आर्थिक वर्ष २०७५।७६ को तेश्रो त्रैमाससम्ममा रु.६८ अर्ब ६८ करोड निक्षेप संकलन गरी रु. ६३ अर्ब ५९ करोड कर्जा प्रवाह गरी सोही अवधिभित्र रु.१ अर्ब ४९ करोड १४ लाख संचालन मुनाफा  र रु.१ अर्ब ६ करोड खुद नाफा आर्जन गरेकोे छ, जुन गत वर्ष सोहि अवधिको तुलनामा क्रमश: ४.०२  प्रतिशत र ५.९१ प्रतिशत बढी हो ।

बैंकले आफ्नो वार्षिकोत्सव पारेर शनिवार विहान बैंकिङ्ग सम्बन्धी जनचेतना जागरण गर्ने उद्देश्यले प्रभातफेरी आयोजना गर्यो । 

बैंकको प्राङ्गणबाट शुरु भएको सो प्रभातफेरी सिटिजन्स बैंक (नारायणहिटीपथ–हात्तिसार–कमलादी गणेश–तिन धारा–दरबारमार्ग—नारायणस्थान हुँदै बैंकको प्राङ्गणमा आएर टुंगिएको थियो । उक्त प्रभातफेरी कार्यक्रममा करिब ३५० सिटिजन्सकर्मीहरूको उपस्थिति थियो।

बैंकको केन्द्रीय कार्यालय नारायणहिटीपथमा आयोजित एक कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गर्ने कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ प्रदान गरेका थिए ।

बाह्रौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगतका कार्यक्रमहरूलाई निरन्तरता दिंदै बैंकले गरिब बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कार्यरत स्नो याक फाउण्डेसनलाई आर्थिक सहयोग स्वरुप रु १,००,०००, एड्स संक्रमित बालबालिकाहरुलाई सेवा गरिरहेको संस्था बेबी लाइफहोम किर्तिपुरलाई आर्थिक सहयोग स्वरुप रु २००,००० र विभिन्न उमेर समुहका असमर्र्थ, अशक्त, अपाङ्ग र मानसिक सन्तुलन गुमेर सडकमा आएका अशक्तहरुको उद्धार गरी आश्रममा ल्याई औषधी उपचार सहितको गाँस, बाँसको व्यवस्था गर्दै आइरहेको चितवन मानव सेवा आश्रमलाई रू ३,००,००० को आर्थिक सहयोग प्रदान गरेको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीको “रक्तदान जिवनदान”को नारालाई सार्थक बनाउँदै  विभिन्न शाखाहरुमा  रक्तदान  कार्यक्रम संचालन गरेको छ । 

बैंकले उपत्यका भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथ अतिरिक्त भक्तपुर, भैसेपाटी, कुपण्डोल  र उपत्यका बाहिरका बिराटनगर, दमक, धरान, जनकपुर, वीरगञ्ज, बनेपा, हेटौडा, नारायणघाट, पोखराको सिमलचौर, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, महेन्द्रनगर, विर्तामोड गरी कुल उन्नाइस स्थानबाट रक्तदान  कार्यक्रम गरेको बैंकले जनाएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत सहित अन्य कर्मचारी तथा सेवाग्राहीहरुले रक्तदान गरेका छन् ।

बैैंकले कारोबार संचालन गर्दै आएको १२ वर्षको समयावधिमा देशैभर फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब चारलाख  ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाईजस्ता कार्यहरू छिटोछरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सातवटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । 

ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।