काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निश्कासनका लागि धितोपत्र बोर्डले स्वीकृति दिएको छ । 

बोर्डले बैंकलाई १००० दरका २५ लाख युनिट ऋणपत्र बिक्रीका लागि स्वीकृति दिएको हो । 

योसँगै बैंकले अब निकट भविष्यमै '१०.२५% सिटिजन्स बैंक ऋणपत्र-२०८६' का इकाईहरुको बिक्री खुलाउनेछ । 

कुल २५ लाख युनिटमध्ये १० लाख सर्वसाधारणका लागि बिक्री खुल्ला हुनेछ भने बाँकी १५ लाख युनिट प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गरिनेछ । 

दश वर्षे अवधिको ऋणपत्रमा लगानी गर्नेले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउनेछ । ब्याजको भुक्तानी प्रत्येक ३ महिनामा हुनेछ । 

सिटिजन्स बैंकको ऋणपत्र निश्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । 

राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत कोर क्यापिटलको २५ प्रतिशत बराबरको ऋणपत्र अनिवार्य निश्कासन गर्नुपर्ने व्यवस्था गरेपछि बैंकरुले धमाधम ऋणपत्र बिक्री गरिरहेका हुन् । यस्ता ऋणपत्रमार्फत बैंकहरुलाई आवश्यक दीर्घकालीन प्रकृतिका स्रोतको व्यवस्थापन हुने र यसले हालसम्म हुँदै आएको कर्जा–निक्षेपबीचको मिसम्याचको अवस्था समेत अन्त हुने बताइन्छ ।